गणतन्त्र ल्याउनेहरू नसच्चिए जनता विकल्प खोज्दै सडकमा आउँछन् : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला भनिने नेताहरूले गरिरहेको राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तीब्र रोष प्रकट गरेका छन् ।

पूर्वराष्ट्रप्रमुख र पूर्वप्रधानमन्त्रीहरू नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको भनाइ छ।

बुधबार काठमाडौंमा पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजि गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे।

थापाले मुलुकको अवस्था अत्यन्त नाजुक भएको कारण देशको अवस्थाले गर्दा व्यवस्था परिवर्तन हुन सक्ने भन्दै गणतन्त्रका संवाहक हौं भन्नेहरू नसच्चिए दुर्घटना टार्न नसकिने दाबी गरे।

‘गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन् , ठूला नेताहरू ब्रम्हलुटमा लिप्त छन्।’ थापाले थपे ‘यो दुर्घटनाको सङ्केत हो।’

भ्रष्टाचार ,बेरोजगारी ,कुशासन,धर्म परिवर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको थापाले बताए ।

भ्रष्टाचार र संघीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका प्रभावहीन बन्दै जानु व्यवस्था नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे।

उनले नेता, कार्यकर्ताहरूलाई अब सडक संघर्षको लागि तयारीमा लाग्न निर्देशन दिए। कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनवर्गीय संगठनका अध्यक्षहरूले बोलेका थिए ।

राजनीति