सरकारले मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन खोज्‍यो : ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको जिकिर थियो।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबीसमेत गरे।

अध्यक्ष ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए। उनले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्तिसमेत जनाए।

नेपालीहरु मारेर भए पनि विदेशीहरुलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाई थियो। उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष ओलीले भने, ‘कतिपय राष्ट्रिय विषयहरु, त्यो राष्ट्रिय विषय मुस्ताङमा विश्वविद्यालय भनेको के हो? मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो। राष्ट्रियतामाथिको प्रहार हो। मित्र राष्ट्र चीन विरुद्धको गद्दारी गर्न खोजेको हो। २०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजेको हो। आफ्नै राष्ट्रको सार्वभौमसत्तालाई अस्वीकार गर्न खोजिएको हो। स्वाधीनतालाई अस्वीकार गरेको हो। के हो त्यो? विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो। विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो। त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो। त्यहाँबाट पहिला २०३१ सालमा वाङदी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थियो। मार्फाबाट अव लिएर जाने लोमाङथाङका भन्दा माथि। जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय। भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन त्यहाँ। र, यो एउटा बुहतै खतरनाक कुरा हो।’

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताए। उनले स्ववियु निर्वाचनमा अनेरास्ववियूलाई विजयी गराउने काममा जुटन् पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

अनेरास्ववियूले मुलुकको राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेकाले स्ववियू निर्वाचनमा सोही संगठनलाई जिताउन लाग्नुपर्ने उनले बताए।

राजनीति