विश्वासको मतबारे सुदूरपश्चिममा माओवादीले निर्णय गर्न सकेन

धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने अथवा नदिनेबारे कुनै निर्णय गरेको छैन। आज शनिबार संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको दलको बैठक बसेको थियो। तर, बैठकले विश्वासको मत दिने अथवा नदिने कुनै निर्णय नगरेको बैठकमा सहभागी एक प्रदेश सभा सदस्यले जानकारी दिए।

उनका अनुसार बैठकले कुनै यथेष्ट निर्णय नगरेर त्यसबारे केन्द्रलाई पत्राचार गरिएको छ। उनले भने, ‘मुख्यमन्त्रीमा हाम्रो दाबी कायम छ। मुख्यमन्त्रीले सरकार गठन गर्दा हामीलाई जानकारी गराएन, समन्वय पनि गरेन। त्यसकारण हामीले नेकपा माओवादीको तर्फबाट सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने जानकारी गराउदै केन्द्रलाई पत्र पठाएका छौं।’

बैठकपछि माओवादी संसदीय दलका नेता खगराज भट्ट अहिले  मुख्यमन्त्रीसँग छलफलमा बसेका छन्। नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएर पदमुक्त भएपछि प्रदेश सभाको ठूलो दलको हैसियतले माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली काङ्ग्रेसका कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिँदै छन्।

राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पूरानै गठबन्धन बिउँतिएपछि शाहले विश्वासको मत लिने तयारी गरेका हुन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा २७ जनाको समर्थन भए मात्र सरकार जोगिन्छ।

प्रदेश समाचार सुदूरपश्चिम प्रदेश