नारी दिवसमा एभरेस्ट अस्पतालले नि:शुल्क शिविर आयोजना गर्ने

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुधबार एभरेस्ट अस्पतालले महिला रोगसम्बन्धी निशुल्क ओपिडी शिविर आयोजना गर्ने भएको छ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूले चेकजाँच तथा परीक्षण तथा परामर्श दिनेछन्। बिरामीलाई थप उपचार आवश्यक परेमा अस्पताल शुल्कमा ३५ प्रतिशत छुट हुने अस्पतालका प्रमुख कार्यकारी प्रशासक दीपकचन्द्र बरालले बताए।

 यो शिविर बुधबार दिउँसो २ बजेदेखि ५ बजेसम्म एभरेस्ट अस्पतालमा आयोजना हुनेछ। शिविरका लागि बुधबारभित्र नाम टिपाउनुपर्नेछ। नाम टिपाएर पनि बुधबार उपस्थित हुन नसक्नेहरूले एक सातासम्म कुनै पनि दिन अस्पताल आएर परामर्श लिन सक्नेछन्।

”घरेलु काममा महिलाहरू अत्यधिक सक्रिय रहने गरेका छन्। त्यससँगै अहिलेको समयमा उनीहरू कार्यालयको काममा समेत व्यस्त हुन्छन्,” उनले भने,” दोहोरो चापका कारण महिलाहरूमा विभिन्न समस्याहरू देखिने गरेको छ। समस्या लुकाएर बस्न हुँदैन र त्यसको निदान तथा उपचारको बाटो खोज्नुपर्छ भन्ने सन्देश महिला दिवसको अवसर पारेर दिनका लागि हामीले यो क्याम्प आयोजना गरेका हौं।”

एभरेस्ट अस्पतालले यसअघि पनि विभिन्न समयमा स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको छ। केही समयअघिमात्रै अस्पतालले प्रोस्टेट तथा पिसाबको समस्याबाट ग्रसित बिरामीहरूका लागि निशुल्क शिविर राखेको थियो। युरोलोजिस्ट डा. सुनिललाल श्रेष्ठ नेतृत्वको टोलीले त्यतिबेला बिरामीहरूको चेकजाँच गरेको थियो। लगत्तै अस्पतालले मानसिक स्वास्थ्य सम्बन्धी परामर्श शिविर राखेको थियो।

डा. प्रेरणा झा नेतृत्वको टोलीले यतिबेला बिरामीहरूलाई परामर्श दिएको थियो। शिविरका दौरान बिरामीहरूलाई केही समयका लागि पुग्ने औषधि समेत वितरण गरिएको थियो।

समाचार