अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाँजा बरामद

प्रहरीले अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाँजा बरामद गरेको छ । एउटा पार्सलमा साढे ४ किलो र अर्को पार्सलमा २.४ किलो गाँजा बरामद गरेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।

फागुन २१ मा अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको चकलेट र बालबालिकाको खेलौना (चकलेट एण्ड चाइल्ड गेम आइटम) उल्लेख गरिएको पार्सलमा साढे ४ किलो गाँजा बरामद भएको ब्यूरोले जनाएको छ ।

उक्त पार्सल बुझ्न आउने भारत गुजरातका ३० वर्षका निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका–३ का फैज आलमलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले भारतीय नागरिक निमेशको साथबाट १ लाख ४० हजार भारु र सर्लाहीका फैज आलमको साथबाट ८० हजार रुपैयाँ पनि बरामद गरेको छ ।

त्यस्तै, अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको छ । उक्त पार्सल रिसिभ गर्ने व्यक्ति गोरखाको गण्डकी गाउँपालिका–४ का २३ वर्षका रुपक अर्याललाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार