दुग्ध सहकारीकर्मी कर्मचारीहरुको अध्य्ययन अवलोकन भ्रमण सम्पन्न

२४ फागुन,हेटौंडा- मकवानपुरमा रहेका दुग्ध सहकारी संस्थामा काम गर्ने कर्मचारीहरुको पेशागत सहकारी दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ६ दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।

सहभागीहरुको लागत सहभागितामा गत फागुन १९ गतेबाट शुरु गरिएको भ्रमण हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तीनाथ मन्दिर सम्मको रहेको थियो । सहभागीहरुले विभिन्न धार्मिक स्थल लगायत रमणीय स्थानहरुको समेत भ्रमण गरेका छन् ।

म्याग्दीको बेनी , तातोपानी कुण्ड , मुस्ताङको घाँसा, लेते, मार्फा, जोमसोम, कागबेनी लगायतका स्थानहरु अवलोकन गरिएको थियो ।

भ्रमण कै सिलसिलामा सहभागीहरुले बागलुङ जिल्लाको बागलुङ दुग्ध उत्पादक सहकारी संघ , तनहुँ जिल्लामा रहेको तनहुँ दुग्ध उत्पादक सहकारी संघ , नेपाल कै ठूलो दुग्ध उद्योग पोखरामा रहेको सुजल डेरी अवलोकन गरेका थिए ।

त्यसको साथै सहभागीलाई पर्वत र बागलुङ जोड्ने नेपालकै अग्लो झोलुङ्गे पुल , कुस्मामा रहेको झोलुङ्गे पुलका साथै बन्जिजम , बाग्लुङ कालिका मन्दिर, पोखरामा रहेका बिन्दवासिनी , तालबाराही , गुप्तेश्वर महादेवको (गुफा), पातले छाङो (डेबिट फल्स) का साथै चितवनको सौराहामा बन्यजन्तु अवलोकनका लागि जंगल सफारी समेत गराइएको संस्थाका कोषाध्यक्ष नवराज गौतमले बताउनुभयो ।

अवलोकन भ्रमणमा जिल्ला दुग्ध सहकारी संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा , कर्मचारी सहकारीका सचीव गोविन्द प्रसाद तिमल्सिना , कोषाध्यक्ष नवराज गौतम , लेखा समिती संयोजक दामोदर अधिकारी लगायत संस्थाका संचालक र सदस्यहरु गरि २६ जनाको सहभागिता रहेको संस्थाका सचीव गोविन्द प्रसाद तिमल्सिनाले बताउनुभयो ।

भ्रमणको समापनमा गरिएको समिक्षात्मक बैठकमा भ्रमणमा सहभागीहरुले भ्रमणको आयोजना गरेकोमा अत्यन्तै खुशी लागेको र उत्साहित भएको भन्दै आयोजक संस्था प्रती धन्यवाद दिएका थिए । साथै सहभागीहरुलाई संयम, मर्यादापुर्वक र उत्साहित भएर भ्रमणमा सहभागी भएकोमा जिल्ला संघका उपाध्यक्ष देवकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मुख्य समाचार रोचक शिक्षा समाचार समाज सहकारी