ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएको उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा आज बिहान पौने १ बजेको समयमा मृत्यु भएको हो । सडकमा काम गर्ने मजदुर सवार रा १ त १७२५ नम्बरको उक्त ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

यस्तै, उक्त दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका वडा नं. ३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज