सभामुख घिमिरे आज साँझ बहराइन जाने

सभामुख देवराज घिमिरे शुक्रबार बहराइन जाँदै छन्। 

बहराइनको मानमामा शनिबारदेखि चैत १ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४६ औँ बैठकमा भाग लिन घिमिरे शुक्रबार साँझ ७ बजे त्यता प्रस्थान गर्न गर्न लागेका हुन्।

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराइन जान लागेका सभामुख घिमिरेले महासभामा नेपालको तर्फबाट सम्बोधन गर्नेसंघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। 

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रियसभा सदस्य इन्दु कडरिया, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायत सहभागी छन्।

महासभामा गभर्मिङ काउन्सिलको २११ औँ अधिवेशनका बैठक सञ्चालन हुने छन्। आईपीयूको युवा सांसद फोरमको बैठकमा सन्तोष परियारले भाग लिने छन्।

त्यस्तै महिला सांसदको बैठकमा इन्दु कडरियाले सहभागिता जनाउने छन्। त्यस्तै सोमबार हुने असंलग्न राष्ट्रका सांसदहरुको सञ्जालको दोस्रो बैठकमा समेत नेपालको प्रतिनिधिमण्डल सहभागी हुनेछ। महासभामा संसद् महासचिवहरुको संगठनका बैठक पनि सञ्चालन हुने छन् ।

ती बैठकमा संसदका महासचिव डा. गौतमले सहभागी हुने छन् । सभामुख घिमिरेसहितको प्रतिनिधिमण्डल चैत २ गते स्वदेश फर्किनेछ ।

राजनीति