‘प्रचण्ड राजनीतिक धारबाट हिँडे मात्रै कांग्रेसबाट धोका हुँदैन’

 नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम गर्नु नहुने बताएका छन्। 

नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रूपमा काम नगर्ने स्पष्ट पारेका हुन्।

उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम नगर्ने पनि स्पष्ट पारे। गठबन्धनका बीचमा भएको शर्तहरू कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको भनाइ छ। 

‘हतार हतारमा पुरानो गठबन्धन छोडेर प्रधानमन्त्री बन्नका लागि नयाँ गठबन्धन प्रचण्डजीले बनाउँदाखेरी अब त्यो गठबन्धनको मुल कार्यभारलाई बोक्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्छ भन्ने भाव रह्यो। उहाँको समर्थनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको छ। तर एउटा कुरा प्रधानमन्त्रीजीलाई मेरो सुझाव छ, प्रधानमन्त्रीले उहाँलाई अब यो गठबन्धनका बीचमा भएका शर्तहरूलाई जिम्मा लिएर उहाँले राष्ट्रपतिको भूमिका गर्नुपर्छ भन्ने सोच्नुभयो भने त्यो भूमिका उहाँले गर्ने होइन। त्यो भूमिका पार्टीले गर्छ। पार्टीको सभापतिले गर्नुहुन्छ। नेपाली कांग्रेस पार्टीले गर्छ। त्यो भूमिकामा नेपाली कांग्रेस इमान्दार भएर बस्नुपर्छ भन्ने लाग्छ मलाई। त्यो भूमिकामा कांग्रेस इमान्दार हुन्छ।’

नेता रिजालले राष्ट्रपति पौडेल गठबन्धनको परिधि भित्र नबस्ने बताए। पौडेल आफ्नो पूर्व पार्टी नेपाली कांग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पारे। 

‘सुयोग्य व्यक्ति राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको छ। यो संविधानलाई पूर्ण रूपमा आत्मसात गरेको मान्छे। यो संविधानभन्दा बाहिर रत्ति पनि विचार नराख्ने मान्छे समकालीन राजनीतिमा अरू कोही देखेको छैन।

रामचन्द्र पौडेलजति संविधानकाप्रति प्रतिवद्ध कुनैपनि पार्टीमा अर्को नेता देखेको छैन। रामचन्द्र पौडेलले संविधानको भावनाभन्दा बाहिर गएर राष्ट्रपतिको भूमिका गर्नुहोला भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भूमिका भन्दा बाहिर जानुहुन्न भन्ने विश्वास गर्ने बलियो आधार छ। उहाँको पुरानो पार्टी नेपाली कांग्रेसको परिधिभित्र पनि उहाँ बस्नुहुन्न। अहिलेको गठबन्धनको परिधिभित्र पनि बस्नुहुन्न। उहाँले बस्ने परिधि भनेको नेपालको संविधानले देखाएको परिधि मात्रै हो।’

नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभूमिका नेताहरूलाई मिलाएर सोही अनुरूपको राजनीतिक धार बोकेमा कांग्रेसले साथ दिन नसक्ने चेतावनी दिए।

उनले माओवादी केन्द्रका नेताहरूलाई जोखिम पार्नु नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालीन माओवादी पार्टीको प्रतिबद्धता रहेको बताए। 

‘प्रचण्डजीले जुन बाटो, जुन मूलधार गिरिजाप्रसाद कोइरालासँग, सात राजनीतिक दलसँग निर्माण गर्नुभएको हो, यो संविधानले बोकेको बाटो हो। त्यो बाटोमा रहनुभयो भने कांग्रेसबाट धोका हुन्न। त्यो बाटोमा रहनुभएन, र अहिले पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि हिजोका माओवादी पृष्ठभूमिका नेताहरू एक ठाउँमा उभिएर, हिजोको माओवादी राजनीतिलाई बोक्नुपर्छ भन्ने बाटोमा जानुभयो भने प्रधानमन्त्रीको त्यो राजनीति दूरदर्शी ठहर्ने छैन।’

नेता रिजालले प्रधानमन्त्री दाहालले ०५२ सालमा सुरु भएको सशस्त्र विद्रोहलाई जनयुद्ध दिवसको रूपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको बताए।

दाहाल यसप्रकारको बाटोमा जान थाले उनलाई नेपाली कांग्रेसले बोक्न नसक्ने चेतावनी दिए।

राजनीति