साम्प्रदायिक नारा लगाएर समस्याको समाधान हुँदैन : ओली

 नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन्। 

कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाइ थियो।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा काम गरेर फर्केकाहरूले बनाएको संगठन रिटर्नी फेडेरेसनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए।

विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सिप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेसनको नेतृत्वलाई निर्देशन दिए। 

‘यहाँ साम्प्रदायिकताको ठाउँ छैन। साम्प्रादायिक नारा लगाएर समस्याको समाधान हुँदैन। रिटर्नी फेडेरेसनले बुझेको छ। कि हामी पूर्वको होस कि पश्चिमको। उत्तरको होस कि दक्षिणको। निर्माण कार्यमा होस् कि उत्पादन कार्यमा। जे सुकैमा लागेको भए पनि संगठित ढंगले सामूहिक रूपले हाम्रा क्षमताहरु, स्रोतहरु, साधनहरुको प्रयोग गरेर संगठित प्रयासबाट एकले अर्कालाई मद्दत गरेर एक अर्काका समस्या बुझेर अगाडि बढनु पर्दछ। र, हाम्रो आफ्नो आर्थिक अवस्थामा परिवर्तन ल्याउने मात्रै होइन, अरू स्थानीय वा देशवासीहरुको समस्या पनि समाधान गर्नु पर्दछ भनेर तपाईहरुले संगठन बनाउनु भएको छ,’ उनले भने। 

अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यक्ता रहेको पनि औंल्याए।

राजनीति