नयाँ मन्त्रीको ‘नियुक्ति र शपथ आज’ !

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आज सरकार विस्तार हुने र नयाँ मन्त्रीहरूले शपथग्रहण गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिएमा छन् ।


“मन्त्रिपरिषद्बारे आज टुंगिन्छ । भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । भोलि नै नयाँ मन्त्रीहरूको शपथ हुन्छ,” गजुरेलले सोमबार भनेका थिए । सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन नेताबीचको भेटवार्तामा मंगलबार अपराह्न ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो ।


उक्त बैठकबाट मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने नेताहरूको तयारी छ । दोस्रोपटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । तर, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।


सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । तर, न्यूनतम साझा कार्यक्रमका लागि समय लाग्ने भएकाले पहिले मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्य समाचार राजनीति