‘सबैलाई मन्त्रीको भाग पुर्‍याउन सकिँदैन, भूमिकाका आधारमा बाँड्नुपर्छ’

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तीन वटा मन्त्रालय आफूहरूको बटमलाइन भएको बताएका छन्। 

उनले गठबन्धनका सबै दललाई मन्त्रीको भाग पुर्‍याउन नसकिने भन्दै अलि ठूलो बहुमतको सरकार चलाउन प्रधानमन्त्रीलाई सुझाव पनि दिए। 

‘१० दललाई पुर्‍याउनुपर्ने जम्मा २५ वटा सिट छन्, त्यो सबैलाई भने जति पक्कै पुग्दैन, तर कुन कुन पार्टीको भूमिका के हो, त्यो भूमिकाका आधारमा कुन कुन पार्टीलाई कति दिने भन्ने कुरा गर्नैपर्छ।’ मंगलबार मिटरब्याज पीडितलाई बानेश्वरमा भेटेपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने,‘ सबैलाई भाग पुर्‍याउनुपर्छ भन्ने मलाई लाग्दैन। अलि ठूलो बहुमतको सरकार बनाएर चलाए भै गो नि।’

तपाईंहरुले हैसियतभन्दा बढी माग्नुभयो भन्ने छ नि? भन्ने प्रश्नमा खनालले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘हाम्रो हैसियत कसले बताइदिने? हामीले हैसियतअनुसार नै गरिरहेका छौं, तीन वटा मन्त्रालयबाट घट्न नसकिने सन्देश हामीले प्रधानमन्त्रीलाई दिइसकेका छौं।’

कुन कुन मन्त्रालय लिने भन्ने विषयमा अहिले पार्टीमा छलफल भइरहेको भन्दै खनालले थपे,‘सकेसम्म कमजोर मन्त्रालय को लिन चाहन्छ र?’

राजनीति