बालुवाटारमा पुन: बैठकमा जुटे गठबन्धनका दल

 मन्त्रिपरिषद् विस्तारबारे मन्त्रालय र जिम्मेवारी बाँडफाँट टुंग्याउन १० दलीय गठबन्धनको बैठक बालुवाटारमा पुन:  सुरु भएको छ। आज बिहान बसेको बैठकले कुनै निकास निकाल्न नसकेपछि पुन: दोस्रो चरणमा नेताहरू छलफलमा जुटेका हुन्।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि  अझै भागबण्डामा सहमति जुटाउन दलहरू असमर्थ भएका थिए।

हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा दलका नेताहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो। ​ नेताहरुको राय सुझावलाई समेटेर आजको बैठकले त्यसलाई अन्तिम रुप दिने तयारी छ। दलहरुले बढी मन्त्रालयमा दाबी गर्दा प्रधानमन्त्रीलाई मन्त्रालय बाँडफाँडमा सकस भइरहेको छ।

सत्ता घटक नेपाली कांग्रेसले अर्थसहित आठवटा मन्त्रालयमा दाबी गरिरहेको छ। त्यस्तै, नेकपा एकीकृत समाजवादी र जसपाले ३/३ मन्त्रालय दाबी गर्दै आएका छन्।

धेरै दललाई सरकारमा समेट्नु पर्ने बाध्यता र दलहरुको अडानका कारण प्रधानमन्त्री प्रचण्ड दबाबमा छन्।

मुख्य समाचार राजनीति