मकवानपुर प्रहरीद्वारा प्रहरी जवान निलम्बन

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान बिबेक नेपाली निलम्बनमा परेका छन् । लापरबाही पूर्ण तरिकाले सवारी चलाएको देखिएकोले आवश्यक कारबाहीको लागि बिहीबारबाट लागू हुने गरी उनलाई पदबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, नेपाली वडा प्रहरी कार्यालय बगर कास्की दरबन्दी भई हाल मकवानपुर प्रहरीको गाडी चालकको रुपमा कार्यरत थिए । बुधबार साँझ ७ः१० बजेको समयमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बुद्धचोकस्थित जिल्ला प्रहरी कार्यालयबाट भीमफेदी कारागारको लागि थुनुवा लिई हिडेको बागमती प्रदेश ०३–००१ झ ०१२३ न.को मोबाइल गाडिले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त गाडीले ना. ४९ प ११९ र बागमती प्रदेश ०३–००५ प ३०७६ नम्वरको दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए । उक्त घटनाको बारेमा अनुसन्धान गर्दा गाडी चालक नेपालीले लापरबाहीले सवारी चलाएको देखिएकोले उनलाई निलम्वन गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उक्त दुर्घटनामा परेर बागमती प्रदेश ०३–००५ प ३०७६ नम्वरको मोटरसाइकल चालक हेटौंडा–५ पिप्ले बस्ने ४१ वर्षीय मधु अर्याल र ना. ४९ प ११९ नम्वरको मोटरसाइकल चालक हेटौंडा–४, गर्देहि बस्ने ४० वर्षीय सुरेसराज बर्ज्रचार्या घाइते भएका छन् ।

समाज