उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । न्याय परिषद्को परामर्शमा आयोगले आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको हो ।

चैत्र १८ गतेदेखि लागू हुने गरी चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस्तै, बारा क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि कोमलप्रसाद आचार्य नियुक्त भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत्र १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने जनाइएको छ ।

उपनिर्वाचनका लागि यही चैत्र २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

राजनीति