स्वर्णिम वाग्ले र रमेश खरेललाई हार्ने छुट छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको रुपमा उदाउने दाबी गरेका छन्। 

शनिबार पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले रास्वपा चाँडै नै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको रुपमा उदाउने बताएका हुन्। 

‘रास्वपा देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ। यो संकेतको जनाउ घण्टी मात्रै हो,’ उनले भने।  

सभापति लामिछानेले डा. स्वर्णिम वाग्ले र रमेश खरेललाई यो उपनिर्वाचनमा हार्ने छुट नभएको बताएका छन्। 

 ‘यो उपचुनावमा तपाईंहरूलाई मुलुकका लागि हार्ने छुट छैन। स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना देशले गर्न सक्दैन। राजनीतिक स्वार्थका रोटी सेक्न आउनु भएको होइन,’ उनले भने। 

आफूले दुई तिहाइको बहुमतको दिन कल्पना गरिरेहको पनि उनले बताए। 

‘म त्यो दिनको परिकल्पना गरिरहेको छु। जतिबेला हामीले ​दुईतिहाई बहुमतको सरकार बनाउने छौं। हामीले नेतृत्व गरेको सरकारमा तपाईंहरू जस्ता विज्ञहरूले मन्त्रालयहरू हाँक्नुहुनेछ। जहाँ विचौलिया र घुसखोरहरूको अन्त्य हुनेछ। देशले राम्रा नीति बनाउनेछ। आउँदै गरेका छोराछोरीको भविष्य सुनिश्चित हुनेछ। त्यो दिनको सपना देखिरहेको छु। यो सपना मैले सुतेर देखिरहेको छैन। आँखा खोलेर तपाईंहरुलाई साक्षी राखेर देखेको सपना हो।’ लामिछानेले भने।

राजनीति