दुर्घटनामा परेर १८ वर्षीया किशोरीको मृत्यु

पाँचथर । पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्लाको फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा गएराति प्र १–०१–००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कारमा सवार झापाको विर्तामोड नगरपालिका–१ की १८ वर्षीया रश्मी भुजेल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार, मृतकका बाबु झापाको विर्तामोड नगरपालिका–१ का ४५ वर्षीय राजु भुलेजले चलाएको कार सडकबाट झरेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर कार चालक सोही ठाउँ बस्ने राजु भुजेल, उनकी श्रीमती ३९ वर्षीया लीला भुजेल र बहिनी ४० वर्षीया सीता भुजेल घाइते भएका छन् । घाइते कार चालक मृतक रश्मीको बाबु हुन् ।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा सवार राजुका १३ वर्षीय छोरा राजमोहन भने सकुशल छन् ।

समाज