चर्च ब्वाइजले जित्यो सिमरा गोल्डकपको उपाधि

बारा : सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ।

गएराति भएको फाइनलमा चर्च ब्वाइजले दश खेलाडीमा समेटिएको हिमालयन शेर्पालाई २–० गोलले पराजित गरेको हो। 

बारास्थित सिमरा रंगशालामा भएको खेलको छैटौँ मिनेटमै हिमालयन दश खेलाडीमा झरेको थियो। दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। सेन्टर लाइनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर उरावलाई रेफ्री नविन्द्र महर्जनले सिँधै रातो कार्ड दिएका थिए।

३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि(किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए।  दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाए। 

उपाधिसंगै चर्च ब्वाइजले दश लाख नगद र उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। विधागत पुरस्कारतर्फ पनि जितपुरसिमरा गोल्डकपको उपाधि विजेता चर्च व्बाईजकै वर्चस्व रह्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए। उत्कृष्ट गोलरक्षक चर्चका प्रिसो, डिफेण्डर फ्र्यांकलिन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं चुनिए। 

खेलकुद