गठबन्धन ५ वर्ष नै टिक्छ : माधव नेपाल

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन ५ वर्षसम्म कायम रहने दावी गरेका छन्।

वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन्। बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन ५ वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे।

उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए।

उनले भने‚ ‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ। यसको लामो आयु छैन‚ कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढि चल्न सक्दैन भन्ने गरेका छन्। त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ तर तपाईंहरु ढुक्क भए हुन्छ–यो जुन गठबन्धन छ। यो ५ वर्षसम्म कायम रहन्छ। त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं। मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढ्ने प्रतिबद्धता गरेका छौं।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेशअनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए।

राजनीति