रिद्धिसिद्धको खानीको कारण राक्सिराङका चेपाङ समस्यामा

हेटौंडा । मकवानपुरको राक्सिराङ-४ गिङगुङ बस्तीमा रहेको रिद्धिसिद्ध सिमेन्ट उद्योगको खानीकोका कारण त्यस स्थानमा बसोबास गर्दै आएका चेपाङ समुदाय समस्यामा परेका छन् ।  पछिल्लो वर्षहरुदेखि खानीको लापरबाहीको कारण समस्यामा परेको उनीहरुले बताएका छज् ।



बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाल चेपाङ संघ, राक्सिराङ-४ नम्बर वडाका अध्यक्ष जितन चेपाङले खानीको धुवाँ, धुलो र वर्खामा पहिरोको त्रासमा रहनुपरेको बताए ।  उनले उद्योगले खानी सञ्चालन गर्नुअघि २०७४ मा बस्तीको ७५ प्रतिशत जग्गा खरिद गरेर बाँकी जमिन पनि खरिद गर्ने सहमतिमा खानी सञ्चालन गरेको तर बाँकी जग्गा खरिद नगरि आफूहरुको जग्गा हडप्ने तयारी थालेको दाबी गरे ।

उनले आफूहरुले आफ्नो जग्गा अहिलेको चलन चल्तीमा खरिद गर्न अनुरोध गरेको तर उद्योगले ६ वर्ष अघिकै मूल्य अर्थात प्रति रोपनी १ लाख ४० हजार मूल्यमा खरिद गर्ने नभए खानीले खन्दै जाने र बस्तीको बारीनै पुर्दै जाने चेतावनी आएको बताए ।

उनले खानीको ज्यादतीको विरुद्ध आफूहरुले जिल्ला अदालतमा खानी सञ्चालन रोक्न मुद्दा हालेर अदालतले रोक्न खानी सञ्चालन तत्काल रोक्न भनेको भएपनि उद्योगले अटेर गरेको समेत बताए । उनले खानीको कारण आएको समस्याको विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर र राक्सिराङ गाउँपालिकाको ध्यानाकर्षण गराए पनि कुनै सुनवाई नभएको भन्दै गुनासो गरे ।

पत्रकार सम्मेलनमा बोल्दै खानी पीडित दिलबहादुर चेपाङले हिउँदमा धवाँ र दुलो र वर्खामा पहिरोको त्रासमा रहनु परेको दुखेसो पोखे ।

सोही बस्तीकै सानुमाया प्रजाले पनि दिउँसो बस्तीमै हिड्दा पनि माथिबाट खानीको ढुंगा खसेर ज्यान लिने होकि भन्ने त्रासमा दैनिकी जाने गरेको गुनासो गरिन् ।

उनले यसअघि चेपाङ बस्तीका अधिकांश परिवारहरु बसाइसरेर अन्तै गएको बताउँदै आफ्नो जग्गा यहि रहेको कारण कतै जान नसकेको उल्लेख गरिन् ।

पत्रकार सम्मेलनमा बोल्दै चेपाङ संघ बागमतीका अध्यक्ष खुशीलाल प्रजाले खानीको ज्यादती विरुद्ध भोलिबाट चेपाङ संघले संघर्षका कार्यक्रम गर्ने बताए । उनले भोलिबाट खानीको सम्पूर्ण काम बन्द गराउने, उत्खनन निकासी, ढुवानी बन्द गराइने बताए । उनले आफूहरुले भोलिबाट खानी बन्द गराउँदा उद्योगले खानी सञ्चाल गरे कुनै क्षति भएमा त्यसको जिम्मेवार र जवाफदेही उद्योग पक्ष हुने समेत बताए 

उनले खानी प्रभावित क्षेत्रको १ सय ३ रोपनी जग्गामा बसोबास गर्ने ९ घर चेपाङ परिवारको उचित स्थानको खोजी गरि बसोबासको व्यवस्था गर्नुपर्ने माग गरे । उनले खानी उत्खनन गर्दा बग्ने माटोले परिएको बस्तीको व्यवस्थापन समयमै गर्नुपर्ने र धुवाँधुलो नियन्त्रण गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।-khabarbreak

समाज