राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजेका थिए, अब सभामुखविरुद्ध पनि लगाउन सक्छन् : ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग लगाउन सक्ने बताएका छन् ।

बिहीबार पार्टीनिकट पेसागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै यसअघि राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन खोजेको र अहिले सभामुखलाई पनि महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताए । उनले भने, ‘यसअघिको राष्ट्रपतिलाई महाभियोग लगाउन खोजेका थिए तर पार लागेन । अहिलेको सभामुखलाई कुन दिन यिनीहरूले महाभियोग ल्याउन बेर लगाउँदैनन् । किनभने २५ प्रतिशत पुगिहाल्छ । यिनीहरूसँग त बहुमत पनि छ । लाज सरम भन्ने कुरा केही छैन ।’

उनले सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको पनि स्मरण गराए । अध्यक्ष ओलीले तत्कालीन सभामुख अग्नि सापकोटाको नाम नलिएर उनको आलोचना पनि गरे । उनले भने, ‘राजनीति क्षेत्रमा त हामीले यसभन्दा अघि संसदमा एक जना सभामुख देख्यौं, सभामुख भन्ने पदको गरिमा, इज्जत, मर्यादा सबै माटोमा मिलाउने काम भयो ।’ उनले आफूहरूले पार्टीबाट निकालेका सांसदको पद गएको सूचना पनि नटाँसिएको बताए ।

सम्बोधनका क्रममा ओलीले अहिलेको सत्ता गठबन्धन अस्थायी भएको समेत दाबी गरे । उनले यस्ता गठबन्धन अस्थायी हुने भन्दै यो गठबन्धनलाई देश बिगार्न नदिइने बताए । उनले यो गठबन्धन सरकारबाट सकरात्मक भन्ने केही काम पनि नहुने टिप्पणीसमेत गरे ।

राजनीति