सेक्युरिटी प्रिन्टिङ खरिद निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका प्रमुख विकल पौडेलसहित ९ जनाविरूद्ध २ अर्ब ६९ करोड रुपैयाँ बिगो माग्दै मुद्दा दायर गरेको छ । आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनिमितता गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायत नौ जनाविरुद्ध विशेष अदालतमा आर्इतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसँगै मेकानिकलतर्फका तत्कालिन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यकारी निर्देशक पौडेललाई ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४, सिडिई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार नौ सय ४५, सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार आठ सय २७, लेखा अधिकृतबाट निवृत्त रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, शाखा अधिकृत शिरीष उपाध्यायविरुद्ध ४० करोड एक लाख ३९ हजार सात सय ४६, रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार नौ सय २१, भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ र मित्रलाल गुरौविरुद्ध आठ लाख ६९ हजार बिगो दाबी गरिएको छ ।

समाचार