प्रधानन्यायाधीश तत्काल नियुक्त गर्ने तीन दलको सहमति

 प्रमुख तीन दलबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बिहान बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको  कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको हो । लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको लेखककाे भनाइ छ । सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकसमेत सहभागी उक्त बैठकमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकका विषयमा पनि छलफल भएको लेखकले जानकारी दिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग प्रस्तावका कारण २०७८ फागुन १ मा निलम्बनमा परेपछि सर्वोच्च अदालत १४ महिनादेखि कामु प्रधानन्यायाधीशमने नेतृत्वमा रहेकाे  छ । जबराको निलम्बन हुँदा सुरुमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए । ७ महिना कामु प्रधानन्यायाधीश बनेर उनी सेवानिवृत्त भएपछि असोज १५ देखि अर्का वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामुका रूपमा सर्वोच्चको नेतृत्व सम्हाल्दै आएका छन् । उनी कामु भएको पनि ७ महिना भएको छ । नेपाल बार एसोसिएसनले बिहीबार प्रधानमन्त्रीलाई भेटेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया १० दिनभित्र अघि नबढे आन्दोलन गर्ने चेतावनी दियो दिएको थियो । संवैधानिक परिषदबाट नियुक्ति प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले अग्रसरता लिएका छन् । 

राजनीति