काठमाडौंकाे सबै ठाउँका सिसिटिभी व्यवस्था गर्न महामन्त्री थापाकाे सरकारसँग माग

काठमाडौँ : कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसिटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गएको उल्लेख गर्दै उनले शान्ति–सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसिटिभी जडान गर्नुपर्ने बताए।

प्रतिनिधिसभा बैठकमा बुधबार आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनदहाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोशसमेत व्यक्त गरे।

उनले भने, ‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो। प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनुभएको छ। तर, उहाँहरूले ठोस जवाफ पाउनुभएको छैन। आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ। म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदयमार्फत घटनाको सत्यतथ्य र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकहरूले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ।’ यसबारे विश्वास गर्ने स्थिति बनाइदि उनले गृहमन्त्रीलाई आग्रह गरे।

महामन्त्री थापाले सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए।

राजनीति