पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिदिन चिनिया राजदूतलाई आग्रह

पर्वत : कास्कीको पोखरावासीले अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिदिन चिनिया राजदूतलाई आग्रह गरेका छन्।

पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र पोखरा उद्योग वाणिज्य संघको संयुक्त टोलीले बुधबार चिनिया राजदूतावास पुगेर राजदूत चेन सोङलाई भेटी अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिदिन आग्रह गरेको हो।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेकाले हालसम्म पनि अन्तर्राष्ट्रिय उडान नभएको अवस्थामा यथाशीघ्र अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको हो।

पोखरा र चीनका विभिन्न शहरहरूबिच भगिनी सम्बन्ध समेत रहेको र तत्काल ती शहरमा उडान गर्न सकिने अवस्था रहेकाले यसका लागि पहल गर्न महानगरपालिकाका कार्यवाहक प्रमुख मोतीलाल तिम्सिनाले आग्रह गरे। तिम्सिनाले यसले नेपाल र चीनको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

टोलीमा पोखरा महानगरका कार्यवाहक प्रमुख तिम्सिना, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, सल्लाहकार विप्लव पौडेल, रेवान पोखराका अध्यक्ष नरेश भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, पोखरामा रहेका चिनिया व्यवसायी लगायतको सहभागिता थियो।

राजनीति