अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय तत्कालै खारेज हुनुपर्छ : एमाले

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले माओवादीका अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन्।

उनले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी सो रकम दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालत स्विकार्य नहुने बताए।

सरकारले सो निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो।

उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गराउन सरकार नलागेको आरोपसमेत लगाए। प्रमुख सचेतक गिरीले भने, ‘सम्माननीय सभामुख महोदय, हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीमाथि कार्यकर्ता भेलामा जाने क्रममा त्यहाँ केही अवाञ्छित गतिविधि भएका छन। पार्टी अध्यक्षमाथि लक्षित गरी ढुंगामुडा गरिएको छ। शान्ति भंग गर्ने प्रयास गरिएको छ। प्रहरी इन्स्पेक्टरको टाउको फुटाईएको छ। र, १७ वटा टाँका लगाइएको छ। प्रहरी हवल्दार मरसन्न अवस्थामा छन। यस्तो अवाञ्छित गतिविधि गर्नेहरुलाई अहिले प्रहरीले हिरासतमा लिएको त सुनिएको छ। तर, त्यहाँ सत्तापक्षका मानिसहरुको दवावमा छोडने काम हुँदैछ भन्ने पनि सुनिएको छ। यस्तो गलत काम गर्ने काममा सरकार उद्दत नहोस् भन्ने पनि प्रमुख प्रतिपक्ष दलको तर्फबाट म सचेत गराउन चाहन्छु। र, यो घटनाको घोर निन्दा र भत्सर्ना पनि गर्न चाहन्छौं।’

उनले अगाडि भने, ‘आज राज्यकोषमा रकम नभएको भन्दै ८० अर्व भन्दा बढि विभिन्न आयोजनाहरुलाई दायित्व भूक्तानी दिनुपर्ने अवस्था छ। १५ अर्व शिक्षक र कर्मचारीहरुलाई पेन्सन दिन दायित्व भुक्तानी बाँकी छ। ५ अर्व वृद्धवृद्धाहरुलाई अहिले सामाजिक सुरक्षा भत्ता दिन सरकारले बाँकि नै छ। ५ अर्व भन्दा बढि विमा र विपन्न कार्यक्रम अन्तरगत राज्यले दायित्व भुक्तानी गर्नुपर्नेछ। जसका कारणले विमितहरुले उपचार नगर्न नपाईरहेको अवस्था छ। २० अर्व राज्यले तिर्नुपर्ने साँवा र ब्याँज तिर्न नसकेको अवस्था छ।

यस्तो दूरावस्था छ, सभामुख महोदय। र, अहिले अनिवार्य दायित्व १ खर्व २० अर्व भन्दा बढि छ। आज माओवादीका अयोग्य लडाकुको नाममा करिव ४८ सय भन्दा बढि व्यक्तिहरुलाई राज्यकोषबाट, ढुकुटीबाट २÷२ लाख नगद निकालेर बाँडने खालको चलखेल हुँदैछ। राज्यसत्ताबाट यस्तो प्रकारको दोहन हुँदै छ कि आज देश दिनदहाडै लुटिएको छ सभामुख महोदय। त्यस्तो कुरा हामीलाई कुनै पनि हालतमा स्विकार्य छैन।’

प्रमुख सचेतक गिरीले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्ता पक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुडा प्रहार गर्ने कोशिस गरिएको भन्दै निन्दा र भत्सर्ना गरे।

उनले घटनामा संलग्नहरुलाई सत्तापक्षले उन्मुक्ति दिने प्रयास गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।

राजनीति