हाम्रा अध्यक्षमाथि सत्तापक्षबाटै आक्रमण : विष्णु पौडेल

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकारले मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उपाध्यक्ष पौडेलले बिहीबार (हिजो) इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेताहरुलाई एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन्।

उनले सत्तापक्षकै कार्यकर्ताहरु पनि सो आक्रमणको घटनामा सामेल भइरहेको सूचना आफ्नो पार्टीले पाएको जिकीर गर्दै यथार्थ जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे।

उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए। उनले सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न लाचारी र कायरता प्रदर्शन गरिरहेको भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए।

उपाध्यक्ष पौडेलले भने, ‘हिजो इलामको पशुपति नगरबाट फर्कने क्रममा बाटोमा एम्बुस थापेर हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि एम्बुस थापेर आक्रमण गर्ने, आज पनि खुलेआम विरोध प्रर्दशन गर्दै तोडफोड गर्ने काम भइरहेको छ। यस्तो अवस्थामा सभामुख महोदय, हाम्रो देशमा सरकार छ कि छैन ? यो अत्यन्तै चिन्ताको विषय हो कि सरकारले अर्कमण्यता प्रर्दशन गरिरहेको छ । एक प्रकारले भन्ने हो लाचारीपन प्रदर्शित गरिरहेको छ। म यो कायरताको, लाचारीपनको घोर निन्दा र भर्त्र्सना गर्न चाहन्छु। खेद व्यक्त गर्न चाहन्छु। म भन्न चाहन्छु सभामुख महोदय, यो आक्रमणमा सरकार आफै संलग्न भएको छ।’

उपाध्यक्ष पौडेलले सरकारलाई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि खबरदारी गरे।

राजनीति