उपत्यका सार्वजनिक यातायात प्राधिकरण बनाउन ढिलाइ

चालु आर्थिक वर्ष (आव)२०७९/८० को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले उपत्यका यातायात विकास प्राधिकरण गठन गरेर सञ्चालन गर्ने घोषणा गरेका थिए । तर, आर्थिक वर्षको १० औं महिना चलिरहँदा प्राधिकरण बन्ने सुरसार समेत छैन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले यो विषय पटक–पटक उठाएका छन् । महानगरपालिकाले गर्ने उपत्यकाका विकास साझेदारहरुसँगको पूर्वाधार समन्वय बैठकमा उनले सार्वजनिक यातायात सुधार गर्न सबै सार्वजनिक यातायातलाई प्रस्तावित प्राधिकरणमार्फत चलाउनुपर्ने बताउँदै आएका छन् ।

गत मंसिरको एक कार्यक्रममा मेयर बालेनले भनेका थिए, ‘ठूला २०० सार्वजनिक सवारीले पुग्ने काठमाडौंको चक्रपथमा २ हजार सवारी गुड्छन् । जति धेरै यात्री राख्न सक्यो उत्ति नै आय आर्जन हुन्छ । यसकारण सार्वजनिक सवारी सञ्चालकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा भयो । प्राधिकरण गठन भएपछि यसलाई पिक एण्ड ड्रपको माध्यमबाट जसले जति यात्रु बोके पनि आयमा असर नपर्ने वातावरण सिर्जना गर्न सकिन्छ । यसका लागि सार्वजनिक यातायात प्रणालीलाई विश्वासनीय बनाउन आवश्यक छ ।’

काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि संघीय संसदबाट विधेयक पारित भएको उल्लेख गर्दै उनले प्रस्तावित प्राधिकरणलाई छाता कम्पनी बनाएर सोमार्फत सार्वजनिक यातायात चलाउने योजना सुनाएका थिए ।

संघीय सरकारले यातायात प्राधिकरण गठन गरिदिए सार्वजनिक यातायात सुधारको काम धमाधम हुने मेयर बालेनको सचिवालयको भनाइ छ । ‘महानगरले सार्वजनिक यातायात सुधार योजना तयार गरेको छ, ट्राफिक सल्लाकार पनि नियुक्त गरेको छ, तर संघीय सरकारले प्राधिकरण सञ्चालन गर्न परिषद् गठन नगर्दा काम अगाडि बढेको छैन’ सचिवालयका एक सदस्यले भने ।

समाचार