नक्कली शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई सभामुखकाे ध्यानाकर्षण

सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चाँडोभन्दा चाँडो संसद्लाई याे प्रकरणको सम्बन्धमा जानकारी गराउन सभामुखको रुलिङको माग गर्नुभएको थियो । संसद् बैठकमा जानकारीको माग उठेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राप्रपाका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र सरकारी कागज किर्तेसम्बन्धीको अपराध रहेको भन्दै संलग्नलाई कुनै पनि हालतमा छुट दिन नहुने बताउनुभयो । उहाँले सरकारले अनुसन्धानलाई कमजोर बनाउने र छानबिनलाई प्रभावित पार्न नहुने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठले कोशी प्रदेश नामाकरणको सम्बन्धमा सङ्घर्ष समितिले गरेको शान्तिपूर्ण आन्दोलनको कार्यक्रममा सरकारले दमन गरेको भन्दै दमन गर्ने सोचले निकास नदिने बताउनुभयो । उहाँले आन्दोलनकारीसँग छिटोभन्दा छिटो वार्ता गर्न सरकारलाई आग्रह गर्नुभयो ।

राजनीति