‘दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्’

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कडा कारबाही हुनुपर्ने बताउनुभएको छ । 

प्रतिनिधि सभाको आज बुधवारको बैठकमा विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताउनुभयो ।

बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उहाँले भन्नुभयो, ‘अनुसन्धान कहीँ कतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने मात्र सुशासनको नारा लगाउन सक्ने उहाँको भनाइ छ । अहिलेको अनुसन्धान प्रक्रियालाई सबैले गहिरोसँग हेरेको जनाउँदै उहाँले अनुसन्धान निष्पक्ष र स्वतन्त्र भइरहेको छ भन्ने नागरिकलाई विश्वास हुनुपर्ने बताउनुभयो । 

सांसद थापाले नेपालको अर्थतन्त्रको संरचनात्मक समस्याका कारण केही शिथिलता देखिएको उल्लेख गर्दै राजनीतिक दलले कमजोरी गर्दा अर्थतन्त्र आजको अवस्थामा पुगको बताउनुभयो ।

सबैबाट कहीँ न कहीँ कमजोरी भएको छ भनेर कठोर कदम उठाउनुपर्नेमा जोड दिँदै उहाँले आउँदो वर्षको बजेटबाट नागरिकमा विश्वास कायम गर्न सुझाव दिनुभयो । 

बजेटमा व्यवस्था भएका विषय कार्यान्वयन नहुँदा बजेटले लिएको उद्देश्य पूरा हुन नसकेको उहाँले बताउनुभयो । सांसद थापाले बजेट प्रस्तुत गर्नुभन्दा केही महिना अगाडि नै बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने गरी बजेट कार्यतालिका बनाउनुपर्ने बताउनुभयो ।

राजनीति