हेटौंडा क्याम्पसमा अनियमितताको आशंकामा प्राध्यापकहरू आन्दोलनमा

हेटौंडा । हेटौंडा क्याम्पसमा आर्थिक अनियमितताको आशंका गर्दै क्याम्पसका प्राध्यापकहरू आन्दोलन थालेका छन् ।


अनियमितताको आशंका गर्दै नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघले हेटौंडा क्याम्पस हेटौंडाको आर्थिक पक्ष सम्बन्धमा विस्तृत विवरण खुलाई श्वेतपत्र सार्वजनिक गर्न माग गर्दै आन्दोलन थालेका हुन् । 


१० महिनादेखि तलव नपाएका उनीहरूले जायज माग पूरा गर्ने दायित्व विपरीत श्वेतपत्र सार्वजनिक गर्ने माग नै त्रुटिपूर्ण रहेको व्याख्या गर्नतर्फ क्याम्पस प्रशासन लागेको जनाएका छन् । क्याम्पस प्रशासन नै क्याम्पस विकासको वाधक रहेको तथा आर्थिक अनियमितता रहेको आशंका जन्मिएको भन्दै प्राध्यापकहरूले जेठ १ गतेदेखि आन्दोलन कार्यक्रम थालेका छन् ।

उनीहरूले श्वेतपत्र जारी हुनुपर्ने र २०७७ सालदेखी हालसम्मको अतिथि सत्कार शिर्षकमा भएको खर्च सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।


जेठ १ गते र २ गते क्याम्पस समयावधिभित्र कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका प्राध्यापकहरूले आज जेठ ३ गते क्याम्पस सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरुको मोबाइल नम्बरमा ‘शिक्षक कर्मचारीको पारिश्रमिक नियमित निकासा गराइदिनुस्, क्याम्पसको वास्तविक आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्न लगाइदिनुस्’ भन्ने सन्देश पठाउने कार्यक्रम राखेका छन् । 


जेठ ४ गतेदेखि संकाय एवं विभागीय जिम्मेवारी वहन नगर्ने, आन्तरिक परीक्षाका प्रश्नपत्र समयमै उपलब्ध गराउने तर माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने, जेठ ५ गतेदेखि ८ गतेसम्म दैनिक १५ मिनेटका दरले बिहान ८:३० बजेदेखि ८:४५ बजेसम्म क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्ष अगाडि धर्ना बस्ने र जेठ ९ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।


क्याम्पस प्रमुख देवचन्द्र मानन्धरसंग प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा फोन उठेन ।-prasta khabar

समाज