बागमती प्रदेशः मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीले सात मन्त्रालय ओगट्दा नियमित काममा पनि समस्या

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले सात मन्त्रालय ओगट्दा नियमित काममा पनि समस्या परेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माणसंगै चालु आर्थिक बर्षमा सक्नुपर्ने धेरै काममा समेत समस्या भएको कर्मचारीहरु बताउँछन् ।

दुइ जनाले प्रदेशका धेरै मन्त्रालयमा रहेको नेमप्लेट र मन्त्रालयका वेबसाइटमा फोटो रहने भन्दा बाहेक खासै काम गर्न भ्याएका छैनन् । चालु आर्थिक वर्षमा गर्नुपर्ने धेरै काम भएपनि सत्तारुढ दलहरुका बिचमा मन्त्रीको टुङ्गो लगाउन नसक्दा थप समस्या परेको हो । नेकपा एमाले, राप्रपा लगायतका दलहरुले प्रदेश सरकारबाट छोडेपछी हाल सम्म पनि सबै मन्त्रालयमा मन्त्री नियुक्त हुन नसक्दा थप समस्या परेको हो ।

अहिले पनि मुख्यमन्त्रीसंग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसंगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । प्रदेशका अर्का मन्त्री लामालाई मुख्यमन्त्रीको भन्दा धेरै मन्त्रालयको जिम्मेवारी दिइएको छ । लामाले समालेको आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालीरहनु भएको छ ।

एकै मन्त्रीले आफ्नो पार्टीको भागको मन्त्रालय भन्दै चार वटा मन्त्रालयमा पुगेर कर्मचारीबाट स्वागत खानु भन्दा बाहेक कामको सिन्को पनि भाचिएको छैन । लामो समय देखि मुख्यमन्त्रीले सम्हाली रहनु भएका पाँच वटा मन्त्रालय मध्य तीन वटा मन्त्रालयको जिम्मेवारी लामालाई दिनु भएको हो । तर, मुख्यमन्त्रीले पहिले सम्हालेका मन्त्रालय र अहिले पनि सम्हाली रहनु भएका मन्त्रालयका केही स्वार्थका काम भन्दा बाहेक अरु कामले गति लिन सकिएको छैन ।

यसैगरी मन्त्री लामाले बजेटको चटारोका समयमा आफ्नै मन्त्रालय समालिनसक्नु भइरहेको समयमा अरु थप तीन वटा मन्त्रालयको जिम्मेवारी पाउँदा सरकारका कामहरु प्रभावित भएका हुन् । दुइ जनाले सात वटा मन्त्रालयको जिम्मेवारी लिदा कर्मचारीहरुलाई कुनै अर्जेन्ट काम गरिहाल्नुपर्दा फाइल बोकेर मन्त्री खोज्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

बागमती प्रदेशमा गठबन्धन दलहरूबीच मन्त्रालय भागवण्डा लामो समयदेखि अलपत्र रहेकामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपाली कांग्रेसलाई मन्त्रालय भाग लगाइदिएर एकै जना मन्त्रीलाई चार वटा मन्त्रालयको जिम्मेवारी दिनु भएको हो ।

बागमती प्रदेशमा गठबन्धन दलबीच मन्त्रालय भागबण्डा नमिल्दा र नेपाली कांग्रेसले मन्त्रीहरूको नाम नदिएपछि सरकार अपूर्ण छ । नेपाली कांग्रेसले ६ वटा मन्त्रालय छोड्न नमान्दा र नेकपा (एकीकृत समाजवादी) ले २ वटा मन्त्रालय मागेपछि भागवण्डा टुंगो लाग्न नसकेको हो । अब भने कांग्रेसले पाँच वटा मात्र मन्त्रालय पाउने नश्चित रहेको छ ।

आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट निमार्ण गर्नुपर्ने समयमा ५ वटा मन्त्रालयहरू रिक्त भएपछि तत्कालका लागि कांग्रेसलाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

कांग्रेसबाट यसअघि दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्रालय र तिर्थ लामाले खानेपानी तथा सिचाईं मन्त्रालय सम्हाल्नु भएको छ । बागमतीमा ११ वटा मन्त्रालयमध्ये सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय सम्हालिरहेको छ । भागवण्डा नमिल्दा नेकपा एस भने सरकारबाहिरै छ ।-janapatra

प्रदेश समाचार बागमती प्रदेश