मकवानपुरगढीमा सहकारीद्वारा दुग्ध प्रशोधन उद्योग सञ्चालन

हेटौंडा । बिहान सबेरै देखि दूधका साना र ठुला क्यान बोकेका किसानहरुको ताती छ । गाउँ वरपरबाट कोही महिला त कोही पुरुषहरु दूध बिक्रीका लागि सहकारीमा आएका छन् । दूध बिक्री गर्न आउनेहरु कोही मोटरसाइकलमा छन् कोही, अटोमा त कोही आफै बोकेर सहकारीमा ल्याइरहेका छन् । सहकारीमा हतार हतारमा दूध खन्याएर बिक्री गरेर फर्कने किसानहरु पनि उत्तिकै छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा पुग्दा देखिएको दृस्य हो यो । सहकारी संस्थामा बिहानको झिसमिसे देखिनै कर्मचारीहरु आफ्ना काममा व्यस्त देखिन्छन् । कोही दुध जोखेर खरिद गर्ने स्थानमा त कोही दुग्ध प्रशोधन उद्योग तर्फ । सबैलाई बिहानै कामको निकै चटारो झै देखिन्छ । सहकारी भवनको मुल गेटबाट भित्र पुग्दा पसलका तीन वटा सटर छन् । ती पसलबाट किसानलाई चाहिने आवस्यक सामान खरिद गर्ने गरिएको छ ।

किसानले दूध बिक्री गरेर फर्कने स्थानबाट अलि भित्र छिर्ने बितिकै दुग्ध प्रशोधन उद्योगमा दही, घिउ, पनिर, छुर्पी उत्पादन गर्ने काम भइरहेको छ । कर्मचारीहरु आफ्ना काममा निकै व्यस्त पनि छन् । उद्योगमा दूधबाट उत्पादन भएका बिभीन्न सामाग्री बिक्री पनि भइरहेको छ । किसानले दूध खन्याएर जाने बित्तिकै चिस्याउने काम भइरहेको छ । उता दुग्ध प्रशोधन उद्योग रहेको भवनको सबै भन्दा पुच्छारको तलामा आगो बालेर उद्योगलाई चाहिने तापक्रम दिइरहेको छ ।

आर्थिक वर्ष २०७७–०७८ मा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइ हेटौंडाको ५० प्रतिशत अनुदानमा दुग्ध प्रशोधन उद्योगको स्थापनाका लागि काम सुरु गरिएको हो । भवन निर्माण र उद्योग समेत गरेर एक करोड रुपैयाँ अनुदान रकममा यहाँ मनकामना दुग्ध उत्पादक सहकारीले उद्योग खोलेको हो । इकाइबाट एक करोड रुपैयाँ सहयोग लिएको सहकारीले अरु झण्डै डेढ करोड रुपैयाँ लगानी गरेर भवन निर्माण र उद्योगका लागि लगानी गरेको छ । लगानी अनुसार अहिले प्रतिफल पनि दिन सुरु गरेको दुग्ध सहकारीका अध्यक्ष अर्जुन दाहाल बताउनुहुन्छ ।

एक हजार लिटर क्षमताको दुग्ध प्रशोधन उद्योग र भवन समेतका लागि अनुदान उपलब्ध गराइएको थियो । पहिले यस सहकारीले दूध चिस्याउने काम गरेर बिक्री गर्दै आएको थियो । अहिले भने सहकारीले दुग्धजन्य पदार्थ उत्पादन गरेर गाउँमै रोजगारी मात्र दिएको छैन आफ्ना उत्पादनहरुलाई ठुला शहरमा बिक्री समेत गर्दै आएको छ ।
यस सहकारी २०४२ सालमा स्थापना भएको हो । सहकारीले बिगतमा अरु काम गर्दै आएपनि अहिले भने उद्योगकै रुपमा पनि काम गर्न थालेको उहाँ बताउनुहुन्छ । यस उद्योग २०७९ साल माघ २७ गते दर्ता गरेर २०७९ साल पुस १३ गते काम सकेर उद्योग सञ्चालनमा ल्याइएको सहकारीका व्यावस्थापक शशी लंसाल बताउनुहुन्छ ।

अहिले सहकारीमा दैनिक ४ हजार २ सय लिटर दूध संकलन भइरहेको छ । दैनिक २ हजार लिटर दूधको छुर्पि, पनिर, घिउ, बटर, दही उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

यस उद्योगबाट दैनिक १३ केजी छुर्पि, ७० केजी बटर, माग अनुसार घिउ, दही एक सय लिटर, दुइ सय लिटर दूधको पनिर उत्पादन गर्ने गरिएको दुग्ध प्रशोसन उद्योग तर्फका प्रमुख अनिश पोख्रेल बताउनुहुन्छ ।

यहाँ उत्पादन भएका सामाग्रीहरु हेटौंडा, काठमाण्डौं, पोखरा लगायतका शहरमा बिक्री गर्ने गरिएको उहाँ बताउनुहुन्छ । दैनिक रुपमा यस क्षेत्रका ४ सय ५१ जना किसानले यस सहकारीमा दूध बिक्री गर्दै आएका छन् । सहकारीमा ३ सय ४८ जना शेयर सदस्यहरुनै रहेका छन् ।

यस सहकारीमा उद्योग र दूध खरिद बिक्री लगायतका क्षेत्रमागरी १३ जना कर्मचारीले रोजगारी समेत पाएका छन् । मकवानपुर जिल्लामा रहेका दुग्ध सहकारी संस्थाहरु मध्यमा जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले उत्कृष्टका रुपमा पुरस्कृत गर्दै आएको छ ।

सहकारीलाई पनि उद्योगकै रुपमा अगाडी बढाउनका लागि मनकामना दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान रकम उपलब्ध गराइएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइ हेटौंडाका आयोजना समन्वय प्रमुख डाक्टर बिदुर प्रसाद गौतम बताउनुहुन्छ ।

सहकारीमा किसान, बैकको समेत लगानी भएको र प्रतक्ष रुपमा सहयोग पुगोस भन्ने उदेस्यले भवन निर्माण र दुग्ध प्रशोधन उद्योग खोल्नका लागि साझेदारीमा लगानी गरिएको उहाँ बताउनुहुन्छ । किसानको दूध बिक्री भएन भन्ने समस्या पनि हट्ने र सहकारीलाई पनि उत्पादन गर्ने उद्योगका रुपमा बिकास गर्न सकिने गरी सहयोग गरिएको गौतम बताउनुहुन्छ । जुन उदेश्यका साथ आयोजनाले लगानी गरेको थियो त्यही अनुसार काम भइरहेको उहाँले बताउनुभयो ।

दुग्ध सहकारी, विकेन्द्रिकृत आयोजना सहयोग इकाइ मात्र नभएर अहिले किसानहरु पनि खुसी छन् । आफुले बिक्री गरेको दूधबाट बिभीन्न दुग्धजन्य पदार्थ उत्पादन गरेर बिक्री गरेकोमा खुसी लागेको मकवानपुर गढी गाउँपालिका वडा नम्बर–३ धमिलेका किसान टेक प्रसाद दाहाल बताउनुहुन्छ । पहिले दूध बिक्री नहुने समस्याका कारण मिल्क होलिडे समेतको मारका किसानहरु थिए । तर, अब मिल्क होलिडे भइहाले पनि दूध बिक्री नहुने समस्याबाट मुक्ति पाइएको अर्का किसान कविता न्यौपाने बताउनुहुन्छ ।-janapatra

समाज