मकवानपुरगढीमा शिबमद्वारा खानी खन्ने नाममा जंगलै सखाप, सांसद बर्तौलाको नेतृत्वमा अनुगमन

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ सुकौरामा रहेको खटार खानीमा उत्खनन् गर्ने नाममा हेटौंडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योगले त्यस क्षेत्रको जंगलनै सखाप पारेको छ ।

खानीमा चुनढुङ्गा उत्खनन् गर्ने नाममा खानी क्षेत्रमा निकै दोहन समेत गरेको पाइएको छ । चुनढुंङ्गा उत्खनन् गर्ने नाममा वरपरको जंगलका रुखहरु जथाभाबी कटान गर्ने, पुर्ने, बोटविरुवाहरु खानी खनेको ओभरबडेनले पुर्ने लगायतका काम गरिएको छ ।

खानी बिभागको मापदण्डलाई पुरै बेवास्ता गर्दै सुकौरामा चुनढुङ्गा उत्खनन् गरिएको हो । प्राबिधिकहरुको निगरानीमा भन्दा पनि एक्साभेटर चालकलाई कसरी मन लाग्छ त्यसरीनै खानी क्षेत्रको उत्खनन् गर्ने गरिएको छ । जथाभाबि रुपमा खानीको उत्खनन् गर्दा सयौं सालका रुखहरु एक्साभेटरले उखेलेर फाल्ने र पुर्ने साना विरुवाहरु समेत पुर्ने काम हुँदा पनि डिभिजन वन कार्यालय हेटौंडाका कर्मचारी समेतको वेवास्ता रहेको छ ।

शिबम सिमेन्ट उद्योगको यो दोहन अहिलेको मात्र होइन । बषौ अघिदेखि खानी उत्खनन्को क्षेत्रमा चुनढुङ्गा उत्खनन्को लागि दोहन गर्दै आएको छ । तर, सम्वन्धीत पक्षहरुको बेवास्ताका कारण थप समस्या भएको स्थानीय वासिन्दाहरु बताउँछन् । शिबमको खानीका कारण मकवानपुरगढीका चार वटा वडाका वासिन्दाहरु प्रतक्ष रुपमा प्रभावित भएका छन् । बर्षायाममा शिबम सिमेन्ट उद्योगको ओभरबढेनका कारण बस्तीनै पुर्ने समस्या देखिएको स्थानीय प्रतक्षदर्शीहरु बताउँछन् ।

शिबम सिमेन्ट उद्योगको खानी क्षेत्रमा तोकिएको मापदण्ड बिनानै जथाभाबि उत्खनन् गरिएको क्षेत्रको मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौलाको नेतृत्वमा अनुगमन समेत गरिएको छ । शिबम सिमेन्ट उद्योगको खानी क्षेत्रमा उत्खनन् गर्दा ध्यान नदिदा सुख्खा पहिरो समेत लडेकोले बस्तीका लागि थप समस्या हुने उहाँ बताउनुहुन्छ ।

शिबम सिमेन्ट उद्योगले व्यवस्थित रुपमा खानीको उत्खनन् नगरेको बताउँदै उहाँ भन्नुहुन्छ–‘तलबाट चुनढुङ्गा निकाल्नका लागि कप्ने गरिएका कारण सुख्खा पहिरो लडेको हो । त्यसले गर्दा सुकौरा, मकवानपुरगढीको आमभन्ज्याङ लगायतका क्षेत्रमा बर्षायाममा निकै जोखिम बढेको छ ।’

खानीले उत्खनन् गरेको ओभरबढेनको त्यतीकै समस्या रहेको सांसद बर्तौला बताउनुहुन्छ । बर्षमा वा हरेक दिन कती उत्खनन् गर्नेहो । त्यसको मापदण्ड पुरा गरेर मात्र उत्खनन् गर्नुपर्नेमा आफुखुसी त्यतीकै उत्खनन् गर्दा थप समस्या भएको उहाँले बताउनुभयो । स्थानीय वासिन्दाहरुसंग बिगतमा गरिएका सहमती र संझौताहरु पालना नगरेकाले त्यस अनुसार पालना गर्नका लागि आग्रह समेत गर्नुभयो ।

वर्षायाममा बस्ती जोखिममा पर्न सक्ने गुनासोपछी खानी क्षेत्रको अनुगमन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे बताउनुुहन्छ । उत्खनन् गर्दा व्यवस्थित ढंगले गर्नका लागि उहाँले सुझाब समेत दिनुभयो ।

खानी क्षेत्रको अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतम, मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपाली, गढी गाउँपालिकाका निबर्तमान अध्यक्ष बिदुर हुमागाई लगायतकाले खानी क्षेत्रको अनुगमन गरेका थिए ।

समाज