राक्सिराङ्गमा रैथानेबालीको परिकार विविधिकरण तालिम सम्पन्न

२१ जेठ,मकवानपुर- राक्सिराङ्ग गाउँपालिका कृषि विकास शाखाको आयोजनामा संचालन भएको रैथानेबालीको परिकार बनाउने तिन दिने तालिमको आज एक समारोहका वीच समापन गरिएको छ ।

विद्यालय दिवा खाजामा रैथानेबालीको परिकार समावेश गर्ने उदेश्यले संचालन भएको तालिममा पहिलो चरणमा १७ वटा सामुदायिक विद्यालयका कर्मचारीहरुको सहभागीता रहेको कृषि स्नातक संगम बिश्वकर्माले जानकारी दिनुभयो ।

परिकार विविधीकरण तालिममा कोदो, फापर र भटमासबाट विभिन्न परिकारहरु बनाइएको थियो । जसमा भटमासको खिर, कोदोको चाउमिन, कोदोको नमकिन, कोदोको हलुवा, कोदोको प्यान केक, फापरको फूलौरा, फापरको सेल, फापरको नमकिन र कोदो+फापरको गुजिया बनाइएको थियो ।

कार्यक्रममा तालिमका सहभागीहरले विद्यालय दिवा खाजामा स्थानीय एवम् रैथानेबालीका परिकार बनाएर खुवाउने प्रतिवद्वता व्यक्त गरेका थिए भने विभिन्न वक्ताहरुले स्थानीय स्तरमा उत्पादन हुने रैथानेबालीको उत्पादन प्रवर्द्वन, संरक्षण, विविधिकरण, उपभोग र बजारीकरणका जोड दिनुपर्ने धारणा राखेका थिए ।

राक्सिराङ्ग गाउँपालिका वडा न.८ का वडाध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक युसाई प्रजाको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरि राक्सिराङ्ग गाउँपालिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिका र विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तालिममा सूचना श्रेष्ठ, रेनु शाही र मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले सहजीकरण गर्नुभएको थियो ।

मुख्य समाचार शिक्षा समाचार