अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनकाे उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड खप्तड जाँदै

डाेटी – सुदूरपश्चिमकाे प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा पहिलाे पटक आयाेजना हुन लागेकाे अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनकाे तयारी पूरा भएकाे छ । सम्मेलनकाे उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मङ्गलवार खप्तड जाँदै हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा सम्मेलन हुन लागेकाे हाे । सम्मेलन पर्सि बिहीवारसम्म सञ्चालन हुनेछ । खप्तड व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहेको बताउनुभयाे । रामदेव आज खप्तड पुग्ने र बालकृष्णसहित सम्मेलनका मूल आयोजक समितिका संयोजक एवम् प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको मन्त्रीको टोली हिजो साेमवार नै खप्तड पुगिसकेकाे छ ।

सम्मेलनमा पूर्वप्रधानमन्त्री, मन्त्री, सङ्घीय सांसदलगायत अन्तर्राष्ट्रिय तहका आध्यात्मिक क्षेत्रका व्यक्तिहरू सहभागी हुने खप्तड व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिनुभयाे ।

सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बाेर्ड तथा पालिकाकाे आर्थिक सहयोगमा हुन लागेकाे हाे । सुदूरपश्चिम प्रदेशका चार वटा पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट झन्डै तीन हजार एक सय मिटरको उचाइमा रहेको छ । खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, आध्यात्मिकलगायतको दृष्टिले महत्त्वपूर्ण रहेको छ ।

खप्तड क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गर्नुभएको थियो । यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । यहाँ विभिन्न प्रकारका जडीबुटी पनि पाइन्छन् । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।

आध्यात्मिक पर्यटनको प्रवर्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न लागिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम देवभूमि र तपोभूमिका रुपमा सदियौँदेखि परिचित छ भन्ने सन्देश दिन यो सम्मेलन गर्न लागिएको हो ।’

सुदूरपश्चिमको विकासको पहिलो पूर्वाधार मानिने खप्तडमा आहिलेसम्म सडक मार्ग पुग्न सकेको छैन । डोटीको झिग्रानासम्म यातायातको व्यवस्था रहेको छ भने त्यहाँबाट पैदल खप्तड पुगिन्छ । झिग्रानासम्म सडक पुगेको भए पनि त्यसपछि झन्डै एक दिनको पैदलयात्रापछि मात्र खप्तड पुगिन्छ ।

राजनीति