मकवानपुरगढीले क्रसरसंग ७० लाख र शिबमसंग १० लाख राजश्व रकम किन लिएन ?

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको आन्तरिक आमदानी कम भएकाले बिकास निर्माणका कामको रकम भुक्तानी गर्न समस्या भएको भन्ने गुनासो गर्दै आएको छ ।

आन्तरिक राजश्व रकम पनि निकै कम उठेकाले बिकास निर्माणका काम गर्नका लागि पनि समस्या भएको बताउँदे आएको छ । तर, मकवानपुरगढीका क्रसर उद्योग र शिबम सिमेन्ट उद्योग संग आर्थिक वर्ष २०७८–०७९ मा नै उठाउनुपर्ने जरिवाना र राजश्व वापतको रकम हाल सम्म पनि उठाउन सकेको छैन ।

जिल्ला समन्वय समितिको नदिजन्य तथा खानी जन्य पदार्थ अनुगमन समितिको निर्णय अनुसार अनुगमन गर्दा मकवानपुरगढीका नौ वटा क्रसर तथा वालुवा उद्योग समेतमा गरी ७० लाख नौ हजार १ सय ५५ रुपैयाँ जरिवाना रकम उठाउनुपर्ने छ । तर, हाल सम्म पनि यो जरिवाना लिनुको सट्टा ती क्रसर उद्योगहरुलाई फेरी पनि नदिजन्य पदार्थ दिएर पोस्ने काम भइरहेको छ ।

यतीका धेरै रकम गाउँपालिकाको खातामा पहिलेनै जम्मा हुनुपर्ने हो । तर, यो जरिवाना रकम उठाउन तर्फ गाउँपालिकाको कार्यालयले तदारुपता देखाएको छैन । जरिवाना रकम उठाउन बाँकी रहेको बिषयमा महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको छ । यो रकम गाउँपालिकाले क्रसरसंग लिनुपर्ने हुन्छ ।

यस्तो छ महालेखाको प्रतिवेदन ।

यसैगरी मकवानपुरगढी गाउँपालिकालाईनै जोखिममा पार्नेगरी खानी उत्खनन् गर्ने हेटौंडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योगले बुझाउनुपर्ने कर रकमनै मकवानपुरगढी गाउँपालिकालाई घटी बुझाएको महालेखा परिक्षकको कार्यालयले हालसालै सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

शिबम सिमेन्ट उद्योगले वातावरणिय ता प्रदुशण शुल्क वापतको रकम ४० लाख १९ हजार ८ सय ९५ रुपैयाँ गाउँपालिकालाई बुझाउनुपर्नेमा यो रकम अहिले सम्म ३० लाख रुपैयाँ मात्र बुझाएको र बाँकी १० लाख १९ हजार ८ सय ९५ रुपैयाँ गाउँपालिकालाई बुझाउन बाँकी रहेको छ । यो रकम लिन बाँकी रहेको बिषयमा महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको छ ।

यता मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले क्रसर उद्योग र शिबम सिमेन्ट उद्योगले बुझाउनुपर्ने रकम नबुझाएको विषयमा आफुलाई जानकारी नभएको बताउनुभयो । यस विषयमा गाउँपालिकाको लेखा र राजश्व साखामा बुझ्ने समेत उहाँले बताउनुभयो ।

janapatra

समाज