गर्लफ्रेन्डलाई फोन गरेको निहुँमा खुकुरी प्रहार

ललितपुर । गर्लफ्रेन्डलाई फोन गरेको निहुँमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ललितपुरबाट ९ जनालाई पक्राउ गरेको छ ।

बर्दिया मधुवन नगरपालिका–२ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामामाथि खुकुरी प्रहार गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले ९ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतान रहेका छन् ।

प्रहरीका अनुसार, उक्त घटना सोमबार राति १० बजेतिरको हो । खुकुरी प्रहार गर्ने समूहका एक युवककी गर्लफ्रेन्डको नम्बर एक घाइते पुरूषले पाएका थिए ।

उक्त नम्वरमा फोन गर्दा खुकुरी प्रहार गर्ने समूहका युवकले उठाएको र ती युवतीलाई फोन दिनू भनेपछि गर्लफ्रेन्डलाई फोन गरिस् भनेर उनीहरुबीच वादविवाद भएको थियो । वादविवाद पश्चात ती युवकको समूहरुले उनीहरुमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका तीनै जना सडक निर्माणको काम भइरहेकाले गोटिखेलमा पाल टाँगेर बस्दै आएका थिए । खुकुरी प्रहारबाट घाइते भएका उनीहरूलाई लेलेस्थित आनन्दवन अस्पताल लगिएको थियो ।

त्यहाँबाट पाटन अस्पताल लगेर त्यहाँबाट पनि रिफर भएपछि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको थियो । घाइते उनीहरु अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।

साथै प्रहरीले उनीहरूको साथबाट तीन वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

समाज