हेटौंडामा सवारी दुर्घटना हुँदा चार जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेस्थित कर्नावती मार्गमा गएराति सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

गएराति ९ः५५ बजेको समयमा क्याम्पाडांडाबाट मिलन चोकतर्फ जाँदै गरेको बा.प्र.०३–००३ प ९२९४ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना २५ प २७६५ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा बा.प्र.०३–००३ प ९२९४ नम्वरको मोटरसाइक हेटौंडा–८, कमाने बस्ने २८ वर्षीय यज्ञ प्रसाद चौलागाईँ, सोही मोटरसाइकलमा पछाडी सवार हेटौंडा–८, कमाने बस्ने २३ वर्षीय मंगल राई, ना २५ प २७६५ नम्वरको मोटरसाइकल चालक हेटौंडा–१५ बस्ने ३४ वर्षीय शिव थापा र सोही मोटरसाइकलमा पछाडी सवार हेटौंडा–२, संगमचोक बस्ने ५५ वर्षीय उत्तर सिं दोङ रहेका छन् ।

घाइतेमध्ये ना २५ प २७६५ नम्वरको मोटरसाइकलमा सवार उत्रर सिं दोङको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दोङलाई हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारको लागि आज बिहान १२ः४५ मिनेटको समयमा चितवनको पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

दुर्घटनामा परेर घाइते भएका अन्यको भने अवस्था सामान्य रहेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रहरीले दुर्घटनामा परेको दुबै मोटरसाइकललाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार