हेटौंडा–५ मा घरदैलोमा पुगेर गरिएको स्वास्थ्य परिक्षणमा एक हजार ४४ जनाले सेवा लिए

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा जनता घरदैलो स्वास्थ्य परिक्षणमा एक हजार ४४ जनाले सेवा लिएका छन् । ५ नम्बर वडा कार्यालयको सहयोगमा पिप्ले शहरी स्वास्थ्य केन्द्रले वडाका विभिन्न ६ वटा केन्द्र मार्फत जनता घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । असारको १ गते शुरु भइ ७ गते सम्पन्न कार्यक्रममा १ हजार ४४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

पिसाब मार्फत गरिएको सो परिक्षणमा मृगौलाको कार्य अवस्था, पिसावको गुणस्तर र ग्लुकोजको मात्राको अवस्था परिक्षण गरिएको छ । स्वास्थ्य केन्द्रको यो अभियानमा प्रोटिन जाँचमा ७ जनामा सामान्य समस्या, ३ जनामा न्यून समस्या, १ जनामा मध्याम समस्या भेटिएको छ । पीएच परिक्षणमा १५ जनामा सामान्य समस्या तथा ग्लुकोज परिक्षणमा १८ जनामा सामान्य समस्या, १३ जनामा न्यून समस्या, २६ जनामा केही समस्या र ६ जनामा मध्याम समस्या पाइएको संस्था प्रमुख दुर्गा दाहालले बताउनुभयो ।

यसैगरी रक्तचापको समेत जाँच गरिएको यो अभियानमा सबै सेवाग्राहीहरुलाई आवश्यक परामर्श गरिएको छ। यस कार्याक्रममा वडा कार्यालयले सधै साथ र रहयोग गर्ने हेटौंडा–५ का वडा अध्यक्ष र सदस्यहरुले बताएका छन् । कार्यक्रम संचालक स्वास्थ्य केन्द्रले यस अघि बिद्यालयमा किशोरीहरुलाई किशोराबस्थाको स्वास्थ्यबारे अभिमुखिकरण कार्यक्रम मार्फत वडाका ८ बिधालयका ४ सय छात्राहरुलाई प्रशिक्षित गरेको थियो ।

समाचार