बागमतीका मन्त्री दुलालले कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’को नक्सा

हेटौंडा । काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को सिको गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

नेपालको इतिहास र भौगोलिक अवस्थाको सम्झना स्वरूप मन्त्री दुलालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको उनको सचिवालयले जनाएको छ ।

दुई साता अघि काठमाडौं महानगरका मेयर साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ।

भारतले आफ्नो नयाँ संसद भवनमा नेपाली भू-भाग रुपन्देही, कपिलवस्तु समेट्दै अखण्ड भारतको भित्ते चित्र सार्वजनिक गरेपछि त्यसको विरोध स्वरुप मेयर साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ।

अखण्ड भारतको नक्सा विरुद्ध स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिरहेका छन् । भारतले अखण्ड भारतको भित्ते चित्रमा नेपालका भू-भाग समेटेपछि संसद्, सडक र सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भइरहेको छ ।

नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो । ब्रिटिस भारतसँग सुगौली सन्धिमा क्रममा नेपालले ती भूमि गुमाएको थियो । सोही गुमेको भूमी समेटिएको ग्रेटर नेपालको नक्सा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो कार्यकक्षमा राखेका हुन् ।-khabarbreak

मुख्य समाचार राजनीति