बकैयामा शिक्षामा गुणस्तर कायम गर्न माग

मकवानपुरको बकैया गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । कार्यक्रम गाउँपालिकाको आयोजना एवम् कान्छा मिडिया प्रालिको सह–आयोजनामा भएको हो ।

कार्यक्रममा स्थानीयले शिक्षामा गुणस्तर वृद्धि गर्नुपर्ने माग गरेका थिए । उनीहरुले कक्षा ५ मा पढ्ने विद्यार्थिलाई सामान्य नेपाली भाषामा लेखिएको अक्षर चिन्न र पढ्नसमेत कठिन हुने गरेको भन्दै पालिकाको ध्यान त्यसतर्फ केनद्रीत गर्नुपर्नेमा जोड दिए ।

स्थानीयहरुले माध्यमिक तहमा पुगेका विद्यार्थीहरुले विद्यालयहरुमा शैक्षिक गुणस्तर नहुँदा गुणाङ्क र भागहरु समेत गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि पालिकाले अभिभावकत्व लिएर प्राथमिकताका साथ कार्यक्रमहरु लागू गर्नुपर्ने बताएका थिए ।

शैक्षिक गुणस्तर वृद्धि, स्तरीय स्वास्थ्य सेवालगायतका विषयहरु संविधानले नै व्यवस्था गरे अनुसार पालिकमा बसोबास गर्ने नागरिकहरुको मौलिक अधिकार भएकाले बकैया गाउँपालिकाले गैरजिम्मेवार बनेर त्यसबाट पन्छिन नहुने उल्लेख गरे ।

यस्तै, स्थानीयहरुले पालिकाबाट हुने सेवा प्रवाह र विकास निर्माणको काममा गुणस्तर कायम गर्न, पालिकाका विकट वडाहरुमा सहज रुपमा आवतजावत गर्ने वातावरण निर्माण गर्न आवश्यकताका आधारमा बजेटको कार्यक्रममा केन्द्रीत भई कार्यान्वयनमा गर्न सुझाव दिएका थिए । सडक विस्तार, नदी नियन्त्रण, कृषि क्षेत्रको विकासमा पालिकाले समय अनुकुल निर्णय गरेर काम गर्नुपर्ने उनीहरुको भनाई छ ।

यस्तै, कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिका नागरिकहरुको कुनैपनि अधिकार माथि बञ्चित गराउने पक्षमा नरहेको बताए । उनले समय अनुकुल विज्ञ र नगरिकहरुसंगको छलफलबाट पालिकाले विकास निर्माणको काम अघि बढाउने प्रतिवद्धता जनाए ।

सन्तुलित विकास र कृषि क्षेत्रको रुपान्तरण पालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गरेर विकास निर्माणको काममा पालिका गम्भिर ढंगबाट अघि बढ्ने उनले बताए । प्राकृतिक स्रोतको प्रयोगका लागि पालिकाले प्राविधिक जनशक्ति मार्फत् नियमित अनुगमन गर्ने उनको भनाई छ ।

कार्यक्रममा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराएका थिए ।

समाचार