स्वास्थ्य बिमामा देखिएको कमीकमजोरी हटाउँदै लान्छौँ : मन्त्री बस्नेत

 स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।

मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नवीकरणसमेत नगरेका कारण ती अस्पतालहरुमा स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्न नसकिएको पनि स्पष्ट पारे।

सोमबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रष्टीकरण दिएका हुन्।

मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भईरहेको समेत बताए। उनले भने, ‘यो बिमाको सम्बन्धमा धेरै कुरा उठेको छ। यो प्राइभेट हस्पिटल, मेडिकल कलेजहरुले पनि यो सम्झौता अवधि सकिएकाहरुले सुरुमा नविकरण नगरेको अवस्थाले पनि केही समस्या परेको छ। साढे १० वर्ष यो वर्ष यस क्षेत्रमा भुक्तानी भइसकेको छ। ७० लाख नागरिक बिमामा आबद्ध छन्।

४६० निकायहरुले निजी, सरकारी र सामूदायिक सबैसँग सहकार्य गरेर काम गरेको अवस्था हो। र, यो बिमा बुझ्ने सम्बन्धमा अनलाइन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो।

जनताका लागि यो धेरै ठूलो सेवा हो। तर, व्यावहारिक रुपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरु भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रुपमा अगाडि बढाउने कार्ययोजनाहरु चाँहि तयार भइरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ।’

मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरुको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहोर्‍याए।

समाचार