२२ आधारभूत अस्पताल तयार, १०० वटा अर्को आवमा बन्छन् : स्वास्थ्यमन्त्री बस्नेत

दुई वर्षअघि निर्माण सुरु भएका ५‚ १० र १५ शय्याका ३९६ आधारभूत अस्पतालमध्ये हालसम्म जम्मा २२ वटा अस्पतालको निर्माण सकिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री बस्नेतले दुई वर्षअघि निर्माण सुरु गरिएका आधारभूत अस्पतालमध्ये हाल जम्मा २२ वटाको निर्माण सम्पन्न भएर सन्चालनको तयारीमा रहेको बताएका हुन्।

आगामी आर्थिक वर्षमा १०० वटा आधारभूत अस्पताल निर्माण भइसक्ने जानकारी समेत मन्त्री बस्नेतले दिएका छन्।

०७७ मंसिर १५ गते एकै दिन सबै स्थानीय तहमा ३९६ अस्पतालको शिलान्यास गरिएको थियो। आधारभूत अस्पताल नभएका ७५३ मध्ये ६५५ स्थानीय तहमा पनि पहिलो चरणमा ३९६ वटा स्थानीय तहमा र दोस्रो चरणमा २५९ स्थानीय तहमा निर्माण गर्ने गरी योजना अगाडि बढाइएको थियो।

दुई वर्षसम्म यी अस्पतालहरुको निर्माण सम्पन्न गर्ने लक्ष्य तत्कालीन सरकारले लिएको थियो।

राजनीति