हेटौंडा -१५, रातोमाटेबाट लागूऔषधसहित घिमिरे पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट प्रहरीले आइतबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध लुप्रिन–१०, डाईजोपाम–१०, सुनारगन–१० नामक ३० एम्पुलसहित हेटौंडाका एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का १९ वर्षीय सागर घिमिरे रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

वीरगञ्जबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०३–००१ ग ३१५ नम्बरको माइक्रोलाई चेकजाँच गर्ने क्रममा माइक्रोमा सवार घिमिरेको साथबाट प्रहरीले उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाचार