बागमती प्रदेश सभाको बैठक यही असार १७ गतेसम्मका लागि स्थगित

बागमती प्रदेश सभाको बैठक यही असार १७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख भुवनकुमार पाठकले असार १७ गते अपराह्न २ बजे बस्ने गरी आज अपराह्न बसेको प्रदेश सभा बैठक स्थगित गरेका हुन् ।

आर्थिक वर्ष २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानित (बजेट) माथि छलफल गर्न बुधबार बिहान ११ बजेको लागि बोलाइएको प्रदेश सभा बस्न नसकेपछि सूचना टाँस गरेर बुधबार दिउँसो १ः३० बजे बस्ने भनिएको थियो ।

बुधबार दिउँसो साढे १ बजेको बोलाइएको बैठक पनि झण्डै ४ घण्टापछि सवा ५ बजेको बसेको थियो । सो बैठकमा प्रतिपक्ष दलको तर्फबाट बोल्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आवको विनियोजित बजेट लक्ष्य बिहीन एवम् जनताप्रति विभेदकारी भएको आरोप लगाउँदै बजेटमाथि संशोधन गर्न माग गरे ।

उनले सरकारमा प्रतिनिधित्व गर्ने मुख्यमन्त्री र मन्त्रीहरुले क्रमशः आफ्नो चुनावी क्षेत्र धादिङ, सिन्धुपाल्चोक र नुवाकोटलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको आरोप लगाए ।

बजेटले चुनावी क्षेत्रलाई मात्र होइन, प्रदेशको अन्य जिल्लाका सर्वसाधारणहरुलाई खानेपानी, कृषि उत्पादन, सडक, रोजगारीका अवसरलगायत आर्यआर्जन गर्ने आर्थिक प्याकेज कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे । साथै उनले जनतालाई सम्मान दृष्टि कोणले विकासको पूर्वाधारले समेट्न नसके प्रदेश सभाको आगामी बस्ने बैठकमा निरन्तर अवरोध गरिरहने घोषणा गरे ।

प्रतिपक्ष दल राप्रपाका नेता थापाले आफ्नो भनाइहरु राखेसँगै सभामुद पाठकले प्रदेश सभाको अर्को बैठक असार १७ गते बस्ने घोषणा गर्दै आजको बैठक स्थगित गरे ।

बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजित बजेट लक्ष्य बिहीन एवम् जनताप्रति विभेदकारी भएको, आफ्नौ निर्वाचन क्षेत्र र चुनावीमूलक रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा र नेमकिपाका सांसदहरुले पटक–पटक संसद अवरोध गर्दै आएको छ ।

प्रदेश समाचार बागमती प्रदेश राजनीति