पढाइ छाडेको २१ वर्षपछि म्याग्दीकाे मङ्गला गाउँपालिका–१ का वडाध्यक्ष एसईई उत्तीर्ण

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोका पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण हुनुभएको छ । 

दीपशिखा मावि कुहुँबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुनुभएका वडाध्यक्ष रोका दुई दशमलव ६५ जीपीए ल्याएर उत्तीर्ण हुनुभएको हो ।

विसं २०५८ सालमा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि बीचमै पढाइ नै छाड्नुभएको थियो । एसएलसीमा फेल भएपछि वैदेशिक रोजगारीकाे सिलसिलामा मलेसिया र अफगानिस्तान पुग्नु भएका उहाँले आठ वर्ष विदेशमा बिताउनुभयाे । उहाँ २०६९ सालमा घर फर्किनुभएको थियो । 

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध हुनुभएको थियो । उहाँ गएकाे वैशाखमा भएकाे पालिका चुनावमा  नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित हुनुभएको हाे। सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसईई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ । 

समाचार