जग्गा किर्तेको आरोप लागेका थाहाका वडाध्यक्षसहित १० जना फरार

थाहा । एक व्यक्तिले किर्ते कागजात बनाइ छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको घटनामा संलग्न रहेको आरोप लागेका थाहाका एक वडाध्यक्षसहित १० जना फरार रहेका छन् ।

जग्गा किर्ते गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि थाहा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम स्याङ्तान, वडा सचिव ओब्जङ बहादुर रोकाया, कार्यालय सहयोगी चन्द्रकुमार मोक्तान, किर्तेका योजनाकार बमबहादुर गुरुङ, उनका छोरा राजु गुरुङ, १२ नम्बर वडा कै रामशरण गुरुङ, कृष्ण बहादुर गुरुङ, सुकुमान स्याङ्तान, राम बहादुर स्याङ्तान र नरेश घलानको नाममा पक्राउ पूर्जी जारी भएपछि सबै फरार भएका हुन् । उनीहरुको खोजी भैरहेको पालुङ प्रहरीले जनाएको छ ।

स्याङ्जामाकी उमादेवी गुरुङलाई आमा बनाएर सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सतराज गुरुङ पक्राउ परेपछि घटनाको भन्डाफोर भएको हो ।

गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्रलगायतका झुट्टा कागजहरु तयार गरी विभिन्न व्यक्ति तथा निकायको मिलेमतोमा उमादेवी गुरुङको नाममा रहेको काठमाडौंको कीर्तिपुर नगरपालिका ३ मा रहेको जग्गा नामसारी गरेको फेला परेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले बताए ।

गुरुङले किर्ते कागजहरु पेश गरी आफ्नो नाममा नामसारी गरी सङ्गठित लिखत किर्ते र ठगीसम्बन्धी कसुर गरेको भेटिएको बताएका छन् । गुरुङले उमादेवीको नक्कली मृत्युदर्ता र नाता प्रमाणित गरेर जग्गा नामसारी गराउन सफल भएका थिए । तर उक्त जग्गा बिक्री गर्न भने भ्याएनन् ।

सोही आधारमा मकवानपुरको थाहा नगरपालिका १२ घर भई काठमाडौंको कपन बस्ने सतराज गुरुङलााई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं राखी अनुसन्धान गरिरहेको छ । उक्त जग्गा बिकीका लागि बैना गर्न लाग्दा प्रहरीले फेला पारेको थियो ।

समाचार