कार्यालयमा भेटिँदैनन् मकवानपुरगढी–६ का वडाध्यक्ष बजगाईँ वडाध्यक्ष, फाइल बोकेर चिया पसल धाउँछन् सेवाग्राही

मकवानपुरगढी–६ का वडाध्यक्ष कृष्ण बजगाईँको कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ । वडा कार्यालयबाट एक दुई दिनमा हुने कामका लागि हप्तौँ र महिनौँसम्म धाउनुपर्ने बाध्यता छ ।

नागरिकता, खानेपानी तथा जग्गा सम्बन्धी सिफारिस/प्रमाणितदेखि वडाबाट सम्पादन हुने अन्य कार्यका लागि कार्यालय आइपुगेका सेवाग्राहीले वडाध्यक्ष भेट्नै मुस्किल भएपछि गुनासो गर्न थालेका छन् ।

वडाध्यक्ष दिनैभरी कार्यकक्षमा नै भेटिनुपर्छ भन्ने बाध्यकारी प्रावधान भने छैन । तर, कार्यालयमा फिटिक्कै नभेटिने भएपछि सेवाग्राही फाइल बोकेर वडाध्यक्ष खोज्दै हेटौंडाका चिया पसल धाउन बाध्य छन् । सिफारिस पत्रमा वडाध्यक्षको हस्ताक्षर गराउनै हप्तौँ लाग्ने भएपछि उनको कार्यशैलीप्रति सर्वसाधारणको गुनासो बढेको हो ।

केही दिन अघि जग्गासम्बन्धी सिफारिस लिन वडा कार्यालय पुगेका एक जना सेवाग्राहीलाई अध्यक्ष बजगाईँले मकवानपुरगढी गाउँपालिका परिसरमा बोलाए, हतारिँदै गाउँपालिका पुगेका उनलाई अध्यक्ष बजगाईँले फेरी बजारको एउटा चिया पसलमा छु आउनुस् भन्दै बोलाए । त्यसपछि पुनः भोलि वडा कार्यालयमै आउनुस् भनी बोलाए ।

‘पहिला गाउँपालिका बोलाउनुभयो, त्यसपछि बजारको चिया पसलमा बोलाउनुभयो । एकछिनपछि फोन गरेर भोलि भेटौँला, वडामै आउनु्स् भन्नुभयो । २/३ दिनसम्म वडा कार्यालय धाएँ । सँधै म पुग्दा उहाँले कार्यालयमै थिएँ भर्खरै निस्किएँ भन्नुहुन्छ । तर, बुझ्दा त्यो दिन उहाँ आउनुभएकै रहेनछ । सेवाग्राहीलाई झुट बोल्नुपर्ने कारण के छ ?’ उनले भने ।

अर्का एक जना सेवाग्राही सिफारिस लिन जाँदा वडाध्यक्ष बजगाईँलाई कहिल्यै कार्यालयमा नभेटिने बताउँछन् । ‘सँधै मन्त्रालय छु भन्नुहुन्छ, सचिवज्यूले सिफारिस बनाइदिनुभयो । तर, झण्डै हप्ता दिनपछि मात्रै उहाँले हस्ताक्षर गरिदिनुभयो । फाइल बोकेर हेटौंडाका चिया पसल–पसलमा वडा अध्यक्ष खोज्दै हिड्नुपरेको छ, हामी दिक्क भएका छौँ ।’ उनले गुनासो गरे ।

सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिस सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकि सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिनुपर्ने हुन्छ । तर, अध्यक्ष बजगाईँ त्यसो गर्दैनन् । लामो समय आफु वडामा अनुपस्थित हुने भएपनि उनले वडामा कुनै जानकारी नै दिँदैनन् ।

सेवाग्राहीको गुनासोपछि तु खबरले झण्डै एक महिना अघिदेखि वडा कार्यालयमा उनको उपस्थितिबारे जान्ने प्रयास गरिरहेको थियो । मंगलबार स्थलगत अवलोकनका लागि कार्यकक्षमा पुग्दा पनि उनी भेटिएनन् । सेवाग्राहीलाई वडाध्यक्षज्यूसँग भेट भयो त ?, भन्ने प्रश्न गर्दा उनीहरुले वडाध्यक्षले आफुहरुलाई निकै दुख दिएको गुनासो गरे ।

त्यसो त उपभोक्ता समिति गठन प्रक्रियामा मनोमानी गरेको आरोप पनि उनीमाथि छ । टोल विकास संस्था तथा सम्बन्धित स्थानीयसमेतलाई जानकारी नदिई हेटौंडामा बोलाएर आफु अनुकुल उपभोक्ता समिति गठन गर्ने गरेको र स्थानीय टिका दाहालले गुनासो गरे ।

‘गाउँमा समस्याको चाङ् छ, अध्यक्षज्यूलाई मतलब नै छैन । जनताको समस्या लत्याएर आफ्नो फाइदामात्रै हेर्नुहुन्छ । वर्षौँदेखि सामरी खोलाले बस्तीमा क्षति पुर्याइरहेको छ । वर्षायाममा त झन् यहाँका जनता त्रासमा बाँच्नुपर्ने अवस्था छ । घोप्टेबेसी, सरमपुर, गोठदमार, डुम्रेकुना, ठूलीबस्ती झल्लालगायतका क्षेत्रमा करिब ७ सय घरपरिवार खोलाको जोखिममा छन् । तर, बस्ती संरक्षणको विषयमा वडाले कुनै कदम चालेको छैन ।’ दाहालले भने ।

ग्रामिण विद्युतीकरण तथा काठेपोल हटाएर फलामे पोल विस्तार गर्ने योजनाको ठेक्का लागेको ७ महिना भइसक्यो । तर, अझै काम सुरु भएको छैन । खानेपानी वितरणका लागि १/१ लाख लिटर क्षमताको ३ वटा ट्याङ्की निर्माण भइसकेको वर्षौँ भयो । तर, पानी वितरण नहुँदा स्थानीय समस्या छन् । वडा नम्वर ५ र ६ जोड्ने भालुखोला पक्की पुल अलपत्र अवस्थामा छ । वडाकै ढिलासुस्तीका कारण निर्माण कार्य अघि नबढेपछि चालु आवमा सो पुलका लागि विनियोजन भएको ठूलो रकम फ्रिज भएको छ ।

वडाबाट योजना फच्र्यौटका लागि समन्वय नहुने र गाउँपालिकाले समयमा रकम भुक्तानी नगर्दा समस्या हुने गरेको निर्माण व्यवसायी कम्पनी तथा फर्मका सञ्चालकहरुको गुनासो छ ।

चुनावी घोषणापत्रमा जनताको सेवालाई प्राथमिकता दिने, सुशासन पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण गर्नेलगायतका एजेण्डा समावेश गरेका बजगाईँकै वडामा दिनप्रतिदिन बेतिथिको चाङ् बढिरहेको छ ।

वडाध्यक्ष निर्वाचित भएलगत्तै रुख काटेर विवादमा तानिएका उनी अहिले पनि जनताको गुनासोको घेराबाट बाहिर निस्कन सकेका छैनन् ।
तु खबरले वडाध्यक्ष बजगाईँसँग प्रतिक्रिया लिँदा उनले आफुमाथिको आरोप झुट भएको बताए । उनले आफु सँधै वडा कार्यालय जाने गरेको भन्दै झुट बोले ।

मुख्य समाचार