भीमफेदीको बुङ्दलमा नक्षत्र बाटिका निर्माण कुन नक्षत्रमा कुन बिरुवा ?

मकवानपुर । मकवानपुरको भीमफेदीमा नक्षत्र बाटिका निर्माण गरि बृक्षारोपण गरिएको छ । भीमफेदी १ बुङ्दल क्षेत्रमा निर्माण गरिएको नक्षत्र बाटिकामा विहीबार राशी अनुसारका २७ जातका विरुवा राेपिएकाे हो ।

सव डिभिजन वन कार्यालय भैंसे र दरवार डाँडा समूदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा स्मृती नक्षत्र बाटिकाको शिलान्यास र विरुवा रोपिएको हो । बागमती प्रदेशमै पहिलो पटक भूमि पुजन र नक्षत्रको पुजा गरि राशी अनुसारका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

आचार्यका अनुसार १२ राशी, ९ ग्रह र २७ नक्षत्रहरुलाई आधार मानेर स्मृती नक्षत्र बाटिकामा विरुवा रोपिएको हो । ‘प्रकृति र संस्कृतिको संयोजनलाई हामीले मकवानपुरमा पहिलो पटक मकवानपुरमा प्रयोगमा ल्याएका छौ’ आचार्यले भने ‘धेरैलाई राशी अनुसार विरुवा हुन्छ भन्ने थाहा छैन, आजको कार्यले धेरै मानिसले आफ्नो राशी, नक्षत्र अनुसारको विरुवा चिह्न सक्नेछन ।’ नक्षत्र बगैंचामा केरा, अमला, समी, आँक, मौलश्री, रिठ्ठा, पलाँस, बाँस, जामुन, डुम्री, सिसौ, खयर, पिपल, नागकेशरी, वर, लहरे पिपल, बेल, अर्जुन, कंकरो, सिमल, वेत,कटहर, कदम, आँप महुवा, नीमको विरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालय राप्ती, मनहरीको सहयोगमा वन उपभोक्ता समूहबाट संरक्षण हुने गरी स्मृती नत्रक्ष वृक्षारोपण गरिएको कार्यक्रम गरिएको हो ।

नक्षत्र बृक्षारोपणमा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा, मनहरीका प्रमुख विष्णु प्रसाद आचार्य, भीमफेदी वडा १ का वडाध्यक्ष सोमबहादुर स्याङुतान, मकवानपुरगढी ५ का वडाध्यक्ष दिपेश दाहाल, डिभिजन वन कार्यालय मकवानपुरका अच्युत प्रसाद उपाध्याय, वन निर्देशनालयका हेम पाठक, फेकोफन मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी,  प्रदेश वन तथा वातावरण मन्त्रालयका सञ्जिव सुवेदी, दरवार डाँडा सामूदायिक वनका अध्यक्ष पूर्ण बहादुर घलान, बुङ्दल सामूदायिक वनका अध्यक्ष चन्द्र प्रसाद दुलाल लगायत वन कार्यालयका कर्मचारी, वन उपभोक्ता तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

नक्षत्र के हो ?

पूर्वीय ज्योतिष शास्त्र अनुसार आकाश मण्डलमा भएका ताराहरूको समूह नै नक्षत्र हो जसलाई चन्द्र महल भनिन्छ । वैदिक ज्योतिषमा नक्षत्रलाई धेरै महत्त्वपूर्ण अङ्ग मानिएको छ ।

वेद जस्तो सर्व प्राचीन ग्रन्थमा पनि नक्षत्रको बारेमा विशेष जानकारी दिइएको छ । नक्षत्रले आफ्नो प्रभावबाट कुनैपनि व्यक्तिको जीवनमा परिवर्तन ल्याउने क्षमता राख्दछ । त्यसैले हाम्रो सनातन धर्ममा नक्षत्रको अवस्था हेरी प्रतिकूललाई अनुकूल बनाउने प्रयास र तत् सम्बन्धी ग्रहको पाठ, पूजा, यज्ञ, अनुष्ठान, साधना र व्रत आदि गर्ने विधान रहेको छ ।

वैदिक ज्योतिष शास्त्र अनुसार नक्षत्र, पञ्चाङ्ग (पात्रो) को महत्त्वपूर्ण अङ्ग हो । शास्त्रमा नक्षत्रको जम्मा सङ्ख्या २७ मानिएको छ र अभिजित नक्षत्र समेत जम्मा २८ नक्षत्र हुन्छ तर ज्योतिषीय गणना पद्धतिमा भने केवल २७ वटा नक्षत्रको प्रयोग हुन्छ।

चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा लाग्ने समयका आधारमा नक्षत्रको गणना गरिन्छ। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र प्रत्येक पाउसँग एकएकवटा अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट सनातन धर्मान्तर्गत नवजात शिशुको नामकरण गरिन्छ। यस प्रक्रियाबमोजिम बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुर्दछ। यसको गणना गणितीय र ज्योतिषीय बिधि अनुसार गरिएको हुन्छ l

आकाश मण्डललाई समान १२ भागमा विभाजित गर्दा आउने एक भागलाई राशी भनिन्छ भने आकाश मण्डललाई समान २७ भागमा विभाजन गर्दा आउने एक भागलाई नक्षत्र भनिन्छ । बैदिक ज्योतिष शास्त्र अनुसार राशी चक्र ३६० डिग्रीको हुन्छ र यो ३६० डिग्रीलाइ १२ राशिले भाग गर्दा एउटा राशिको भागमा ३० डिग्री हुन आउँछ यसैगरी नक्षत्रको लागि ३६० डिग्रीलाई २७ भागमा विभाजन गर्दा एउटा नक्षत्रको भागमा १३.१३ डिग्री (१३ डिग्री २० मिनट) हुन आउँछ ।

नक्षत्र वृक्षारोपण

हरेक नक्षत्रको आ-आफ्नो प्रभाव हुन्छ। जुन नक्षत्रमा जुन व्यक्तिको जन्म हुन्छ सोहि अनुरूप उसको व्यक्तित्व, व्यवहार र आचरण हुन्छ। सनातन धर्ममा रुख र नक्षत्र मानव जीवनको अभिन्न अंग मानिएको छ। पुराणहरु अनुसार २७ नक्षत्रहरु पृथ्वीमा २७ रुखहरुको रूपमा उत्पन्न भएका छन्। ति रुखहरुमा प्रत्येक नक्षत्रको दैवीय अंश विद्यमान रहेको हुन्छ। यी रुखहरुको सेवा वा पूजा गर्नु नै सम्बन्धित नक्षत्रको सेवा वा पूजा हुन् जान्छ।

सुख,शांति एवं दीर्घायुको लागि आ -आफ्नो नक्षत्र रुखको पूजा गर्नु राम्रो मानिन्छ। नक्षत्र वाटिकामा नक्षत्र संग मेल खाने गरि विरुवाहरुको चयन गरिन्छ। शारीरिक, मानसिक, अध्यात्मिक हिसाबले २७ नक्षत्रहरुकालागि सिफारिश गरिएका रुखहरु एकै स्थानमा रोप्नु राम्रो मानिन्छ। यसबाट व्यक्तिको कल्याण मात्र नभई वृक्षारोपणले पृथ्वीकोलागि योगदान समेत पुग्न जान्छ।

कुन नक्षत्रमा कुन बिरुवा ?

• अश्विनी नक्षत्रमा कुचिला (Strychnos nuxvomica)
• भरणी नक्षत्रमा अमला (Phyllanthus emblica/Emblica officinalis)
• कृतिका नक्षत्रमा डुमरी (Ficus racemosa)
• रोहिणी नक्षत्रमा जामुन(Syzygium cumini)
• मृगशिरा नक्षत्रमा खयर(Acacia chundra)
• आद्रा नक्षत्रमा सिसौ(Dalbergia sissoo) अगर वुद
• पुनर्वसु नक्षत्रमा बांस(Dendrocalamus strictus/Bambusa arundinacea)
• पुष्य नक्षत्रमा पीपल(Ficus religiousa)
• अश्लेषा नक्षत्रमा नागकेसर(Mesua ferrea)
• मघा नक्षत्रमा बर(Ficus bengalensis)
• पूर्व फाल्गुनी नक्षत्रमा पलास(Butea monosperma)
• उत्तर फाल्गुनी नक्षत्रमा पहरे पिपल (Ficus rumphii) काभ्रो
• हस्त नक्षत्रमा जाई अथवा रीठा (Jasminum grandiflora/or Sapindus mukorossi)
• चित्रा नक्षत्रमा वेल (Aegle marmelos)
• स्वाति नक्षत्रमा अर्जुन(Terminalia arjuna)
• विशाखा नक्षत्रमा कंकेरो (Mytenus emarginata) नाग्केसर
• अनुराधा नक्षत्रमा बकुलपुष्प(Mimusops elengi) नाग्केसर
• ज्येष्ठा नक्षत्रमा सिमल(Bombax ceiba)
• मूल नक्षत्रमा राजवृक्ष (Cassia fistula)
• पूर्वाषाढ़ा नक्षत्रमा बेत(Calamus rotang)
• उत्तराषाढ़ा नक्षत्रमा कटहर (Artocarpus heterophyllus)
• श्रवण नक्षत्रमा आँक (Calotropis gigantea)
• धनिष्ठा/श्रविष्ठा नक्षत्रमा शमी (Prosopis cineraria) jand
• शतभिषा/शततारका नक्षत्रमा कदम(Anthocephalus cadamba)
• पूर्वभाद्रपद/पूर्वप्रोष्ठपदा नक्षत्रमा आँप(Mangifera indica)
• उत्तरभाद्रपद/उत्तरप्रोष्ठपदा नक्षत्रमा नीम(Azadirachta indica) र
• रेवती नक्षत्रमा महुआ (Madhuca indica) ।
हामीहरुले पनि नक्षत्र वृक्षारोपण शुरु गर्ने हो कि ?

नव ग्रह वृक्षारोपण

सूर्य, चंद्र, मंगल, बुध, बृहस्पति, शुक्र,शनि, राहू र केतु गरि नौ वटा ग्रह हाम्रो धर्म संस्कृतिले मानि आएको छ । ग्रहको सकारात्मक र नकारात्मक प्रभाव दुवै हुने मान्यता रही आएको छ। नव ग्रहको पूजाबाट सकारात्मक ब्रह्मांडीय ऊर्जा प्राप्त हुने बिश्वास गरिन्छ। नवग्रह वाटिकामा नवग्रह मंडल अनुसार विरुवाहरु रोपणकालागि स्थान छुट्ट्याइन्छ ।
हरेक ग्रह अनुसार यज्ञकोलागि समिधाको प्रकार तय गरिएको हुन्छ र सोहि अनुसार प्रजातिहरु मिलान हुने गरी विरुवाहरु रोपिन्छन।
सूर्यमा आँक (Calotropis gigantea), चंद्रमामा पलाश(Butea monosperma), मंगलमा खयर (Acacia catechu), बुधमा अपमार्ग (Achryanthes aspera), बृहस्पतिमा पीपल(Ficus religiosa), शुक्रमा डुमरी(Ficus racemosus), शनिमा शमी(Prosopis spicigira), राहुमा दुबो(Pao cynasuroides) र केतुमा कुश(Eragrostis cynasuroides)।

ग्रहको विपरीत असरबाट बच्नको लागि यी प्रजातीहरुको समिधा प्रयोग गरिन्छ । धर्म शास्त्र अनुसार आँकको समिधाले रोगको नाश गर्दछ,पलाशले सबै कार्य सिद्ध गर्दछ,खयरले क्रोध र अवसादबाट मुक्ति दिने,अपमार्गले बुद्धि विकास र निर्णय क्षमता वृद्धि गर्ने, पीपलले प्रजा (सन्तति)लाई काम गराउने,डुमरीले स्वर्गको अनुभूति दिलाउने,शमीले पाप नाश गर्ने,दूवोले दीर्घायु दिने र कुशले सबै मनोरथ सिद्ध गर्ने विश्वास गरिन्छ। सहीखवरबाट ।

समाचार